खोटाङका दिनेश राई समानुपातिक सूचीको पहिलो नम्बरमा

खोटाङका दिनेश राई समानुपातिक सूचीको पहिलो नम्बरमा

काठमाडौं । नेपाली कांग्रेस निकट विपी अध्ययन प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख दिनेश राई खोटाङबाट समानुपातिक सूचीमा सिफारिस भएका छन्।

कांग्रेस खोटाङले उनलाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो। २०६४ सालको संविधानसभाको चुनावदेखि लगातार सिफारिस हुँदै आए पनि उनलाई कांग्रेसले सांसद भने अहिलेसम्म बनाएको छैन।

२०५९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर कांग्रेसको पार्टी राजनीतिमा सक्रिय रहेका उनलाई यसपालि भने पहिलो नम्बरमा राखिएको छ।

‘खोटाङका मेरा शुभेच्छुकहरूले चाहन्छन् कि दिनेश राई एकपटक सांसद भएर मन्त्री पनि बनोस्। त्यही भएर मेरो नाम सिफारिस हुँदै आएको छ’, उनले भने ‘पदमा नहुँदा त यति धेरै काम गरेको छु भने पदमामा भइसकेपछि खोटाङको विकासको लागि मैले धेरै काम गर्नसक्छु भन्ने विश्वास खोटाङवासीलाई छ।’

अहिले शेखर कोइराला समूहमा रहेका राईलाई त्यो समूहले नेपाल तरूण दललाई ब्यूँताउने जिम्मेवारी दिएको छ। पार्टीले तरूण दलको तदर्थ समिति गठन गरे पनि त्यसलाई पूर्णता दिन सकेको छैन। उनी तरुण दलका केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्।

‘हामी सक्रिय अनि स्वस्थ तरूण दललाई ब्यूँताएर फेरि एकपटक पार्टीका लागि सक्रिय बनाउन चाहन्छौं’, उनी भन्छन् ‘पार्टीको एउटा समूहले मलाई त्यसको जिम्मेवारी पनि दिएको छ।’