संयुक्त राष्ट्रसङ्घका महासचिवले गरे रूसी दूतावास आक्रमणको निन्दा
संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन। उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहोर्याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ। महासचिवले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन।
अज्ञात आतङ्कारीले आफ्नो दूतावासको कन्सुलर खण्डको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ प्रहार गर्दा दुई जना कर्मचारी मारिएका रूसी विदेश मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयका अनुसार दूतावासका अधिकारी अफगान सुरक्षाकर्मीहरूसँग निकट सम्पर्कमा रहेका तथा घटनाको अनुसन्धान भइरहेको छ।
यसैबीच, पाकिस्तानले रूसी दूतावासमा भएको घातक हमलाको निन्दा गरेको छ। उक्त आक्रमणमा एक जना रूसी कूटनीतिज्ञ र अर्का एक जना अफगान नागरिकको ज्यान गएको थियो। पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कूटनीतिक नियोगमा भएको हमला गम्भीर चिन्ताको विषय भएको बताउँदै आतङ्वादका सबै रूप र प्रकटीकरणको पाकिस्तान सरकारले निन्दा गरेको छ।
आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनप्रति सहानुभूति जनाउँदै विदेश मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै पाकिस्तानले आतङ्वाद साझा चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न ठोस प्रयास अपरिहार्य भएको बताएको छ।