आठ महिनामा ३ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

आठ महिनामा ३ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं। पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन्।

अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन्।

सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ। सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए।

विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो। कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन्।

विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए भने १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए। फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो।

यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए। मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए। सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए।

गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो। मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए भने ६१ हजार ३५० जना पर्यटक फर्केका थिए।

विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए। सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए।

अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ। अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन्।