पर्यटनमन्त्री श्रेष्ठसँग इटालीका टिभी पत्रकार तथा टुर अपरेटरको भेट

पर्यटनमन्त्री श्रेष्ठसँग इटालीका टिभी पत्रकार तथा टुर अपरेटरको भेट

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग युरोपेली राष्ट्र इटालीका टेलिभिजन पत्रकार तथा टुर अपरेटरहरुले भेट गरी नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मन्त्रालयमा भएको भेटमा इटालीको ट्राभल टिभीका प्रोड्युसर, वृतचित्र निर्माता तथा टुर अपरेटरहरुले मन्त्री श्रेष्ठसँग नेपालबारे इटालीमा प्रचार प्रसार गर्न इच्छुक रहेको बताएका हुन्। नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरुप्रति विदेशी पर्यटकको आकर्षण बढाउन नेपालबारे निशुल्क रुपमा वृतचित्र तथा टेलिभिजन कार्यक्रम निर्माण गर्ने उनिहरुको भनाइ थियो। नेपालबाट इटालीको सीधा उडान नहुनु तथा दुतावास नहुँदा नेपाल आउन चाहने इटालियन पर्यटकलाई असुविधा भएको समेत उनिहरुको भनाइ छ। इटाली तथा मोरक्कोमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका ब्रुनो अलेगीले नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउन आफुले सहयोग गर्ने बताए। टेलिभिजन कार्यक्रम निर्माता उबाल्डो पेट्रोसिनोले इटालीको स्थानीय भाषामा सन्देशहरु निर्माण गरी नेपालबारे प्रवर्द्धन गर्ने बताए।

मन्त्री श्रेष्ठले नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त रहेको बताउदै पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्न उपयुक्त मुलुक रहेको बताए। नेपाल पर्वतीय पर्यटनका लागि मात्र नभएर प्राकृतिक सुन्दरता, सम्पदा, जातीय तथा जैविक विविधताजस्ता कारणले बाह्रै महिना पर्यटनका लागि योग्य छ भन्ने सन्देश विश्व बजारमा प्रवाह गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ। ट्राभल टिभीका प्रोड्युसर, वृतचित्र निर्माता तथा टुर अपरेटरहरुले इटालीको स्थानीय भाषामा भिडियो सन्देशहरु निर्माणका लागि नेपालका विभिन्न स्थानमा छायांकन गर्नेछन्।