एनआरएनलाई नेपालमा डलर खाताका लागि ‘मेघा जननी जन्मभूमि’

एनआरएनलाई नेपालमा डलर खाताका लागि ‘मेघा जननी जन्मभूमि’

बैंकक। पछिल्लो समय आयात बढ्दै जाँदा मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विप्रेषण बढाउन विदेशमा रहेका नेपालीको साथ खोजिरहेको छ।

विदेशी मुद्रा सञ्चिती घट्दै गएकोे अवस्थालाई सुधार ल्याउन सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य नै गरेको छ।

अहिले विदेशमा रहेका नेपालीलाई नेपालका कुनैपनि बैंकमा डलर खाता खोल्ने सुविधा सरकारले दिएको छ। गैरआवासीय नेपालीले एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउँछन्।

विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्न सकिने व्यवस्था गरिएको छ।

सो खातामा बचत गरिएको पैसा आवश्यक परेकाबेला फिर्ता पनि लैजान सकिन्छ। बैंकहरुले उक्त पैसाको ब्याज पनि दिइरहेका छन्।

विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास सरकारको थियो।

स्वभाविक हो, डलर खाता सुविधाका फाइदा गैरआवासीय नेपालीलाई पनि धेरै छन्। किनभने पैसा राख्दा विदेशी बैंकहरुले ब्याज खासै दिदैँनन्। कतिपय देशहरुमा त पैसा बैंकमा राखे वापत उल्टो शुल्क तिर्नुपर्छ। तर, नेपालमा भने बैंकहरुले उचित व्याजदर दिने गरेका छन्। विदेशमा आवश्यक परेकाबेला पैसा सहजै फिर्ता पनि लैजान सकिन्छ।

तर, सरकारको अपेक्षा अनुसार गैरआवासीय नेपालीले नेपालमा डलर खाता खोलेका छैनन्। विदेशमा बस्ने नेपालीलाई खाता खोल्न आह्वान गर्ने प्रतिबद्धता संघले सरकारसँग गरेको थियो। तर, प्रतिबद्धता अनुरुप संघले विदेशमा बस्ने नेपालीलाई डलर खाता सुविधाको बारेमा सुचित गराउन सकेको छैन।

सरकारले पनि यसविषयमा प्रभावकारी हुनेगरी प्रचार–प्रसारका कार्यक्रमहरु गर्न सकेको छैन। त्यसैले पनि यो सुविधाको बारेमा विदेशमा बस्ने धेरै नेपाली अनजान छन्।

मेघा बैंकको ‘मेघा जननी जन्मभूमि’

विदेशमा बस्ने नेपालीलाई लक्षित गरी मेघा बैंकले ‘मेघा जननी जन्मभूमि’ मुद्धती/बचत खाता सञ्चालनमा ल्याएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले थाइल्याण्डको बैंककमा आयोजना गरेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा मेघा बैंकले यसविषया ‘डेक्स’ नै राखेर जानकारी गराएको छ।

बैंककी सहायक महाप्रवन्धक जेनु थापासहितको टोली बैंकक पुगेर संघका प्रतिनिधिहरुलाई डलर खाता सुविधाको बारेमा सुचित गराएको छ। बैंककमा विभिन्न ८३ मुलुकबाट ३ सयबढी प्रतिनिधि सहभागि थिए।

सम्मेलनमा सहभागि प्रतिनिधिले डलर खाता सुविधाको बारेमा निकै चासो दिएका थिए। भेलामा सहभागि प्राय प्रतिनिधिले मेघा बैंकमा डलर खाता खोलेका थिए।

उक्त खाता विदेशबाटै अनलाइनमार्फत नै खोल्न सकिने सहायक महाप्रवन्धक थापा बताउँछिन्।

‘फिजिकल र अनलाइन दुवै माध्यमबाट खाता खोल्न सकिने व्यवस्था छ। विदेशबाट सहजै खाता खोल्न सकिन्छ । यसका लागि हामिले भिडियो सुविधा उपलब्ध गराएका छौँ। आफ्नै ठाउँबाट, आफ्नै अफिसबाट खाता खोल्न सकिन्छ,’ उनले भनिन्।

२४ घण्टा यो सुविधा उपलब्ध हुने उनले बताइन्। यो सुविधा मेघा बैंकको वेभसाइटबाट लिन सकिनेछ।

यो खातामा कम्तिममा १ हजार डलर राख्नुपर्ने थापाको भनाइ छ।

बचत खातामा ६. १ प्रतिशत ब्याजदर पाइने उनले बताइन्। यस्तै ‘फिक्स डिपोजिट’ खातामा ७ प्रतिशत ब्याज दिइनेछ।

‘आफू जन्मेको देशको सम्मानको लागि हामिले यो खाताको नाम ‘मेघा जननी जन्मभूमि’ राखेका हौँ। यसमा आफूले कारोवार गरिरहेको जुनसुकै विदेशी बैंकबाट सिधै रकम जम्मा गराउन सकिन्छ। र, चाहिएको बैला फिर्ता पनि लैजान सकिन्छ,’ उनले भनिन्।

पासपोर्ट, एनआरएन कार्ड, सम्बन्धित देशको आवासीय कार्ड वा ड्राइभिङ लाइसेन्समध्ये कुनैपनि कागजात भए यो खाता खोल्न सकिन्छ।

‘यो खाता खोल्न नेपाली वा हो भन्ने प्रमाणित हुनुपर्‍यो। अनि विदेशमा बस्छ भन्ने प्रमाणित हुनुपर्‍यो। यदि भयो भने सजिलै खाता खोल्न सकिन्छ,’ उनले भनिन्।

विदेशमा दु : ख गरेर कमाएको पैसा देशमा बचत गर्न उनले आग्रह समेत गरिन्।