अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिनामाथि हत्याको प्रयास

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिनामाथि हत्याको प्रयास

काठमाडौं।अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नाडिज डि किर्चनरको हत्याको प्रयास भएको छ। एक बन्दुकधारीले उपराष्ट्रपति क्रिस्टिनाको हत्याको प्रयास गरेको हो।

तर, उनको हत्याको प्रयास असफल भएको छ।

क्रिस्टिना अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा आफ्नो घर बाहिर समर्थकहरूसँग कुरा गरिरहेकी थिइन्। त्यसैबेला एक व्यक्तिले उनीमाथि पेस्तोल तेस्र्याएका थिए।

अजेन्टिनाका राष्ट्रपति एल्बर्टो फर्नांडिसले पेस्तोलमा पाँच गोली रहे पनि फायर नभएको बताएका छन्।

क्रिस्टिना अर्जेन्टिनाको राष्ट्रपतिसमेत भइसकेकी छन्। राष्ट्रपति छँदा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ।

यद्यपि आफूमाथि लागेका आरोपहरू झुटा रहेको उनको भनाइ छ।

यसै मामिलामा अदालतमा भएको सुनुवाइपछि उनी घर फर्किएकी थिइन्। त्यसै बेला उनको हत्याको प्रयास भएको हो।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरिएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी ब्राजिलका ३५ वर्षीय युवक रहेका छन्। प्रहरीले उपराष्ट्रपति क्रिस्टिनामाथि भएको आक्रमणको प्रयासबारे अनुसन्धान थालेको छ।

 



No ads found for this position