थाइल्याण्डका प्रधानमन्त्री संवैधानिक अदालतद्धारा निलम्बित
बैङ्कक। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ। विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो। उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ।
विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए। उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री छन। उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए। सैन्य सहभागीता बढेपछि कानुन पनि त्यही अनुसार बनाउदै उनले निरंकुशता लादेको विपक्षीहरुको आरोप छ।
विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उहाँको कार्यकाल गणना हुने तर्क गरेका छन्। त्यो भन्दा अगाडि उहाँ अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ।