प्रदीप गिरिको निधन : कसले के भने ?

प्रदीप गिरिको निधन : कसले के भने ?

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो।

समाजवादी चिन्तक र प्रखर वक्ताको पहिचान बनाएका उनी करिब एक महिनादेखि मेडिसिटी अस्पतालमा भर्ना थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि बिहीबार गिरीलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो।

घाँटीको क्यान्सरको उपचार गराएर मुम्बईबाट फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको थियो।

जनविरोधी विचारका कट्टर आलोचक गिरि कांग्रेस पार्टीमा मात्र नभएर विपक्षी दलका नेताहरूका माझ पनि ज्यादै लोकप्रिय थिए।

गिरिको निधनपछि कांग्रेसका साथै अन्य पार्टीका नेताहरूले श्रद्धाञ्जली दिने क्रम जारी छ। कतिपयले उनको परिवारलाई भेटेर र कतिपयले सामाजिक सञ्जालमार्फत गिरिको निधनप्रति श्रद्धाञ्जली दिएका छन्।

कसले के भने?

सिद्धान्तनिष्ठ व्यक्तित्व गुमाऔं – राष्ट्रपति विधादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गिरिको निधनपछि नेपालले सिद्धान्तनिष्ठ र वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’ भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्,‘म दिवंगत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

सच्चा र असल नेता गुमाएका छौं – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिको निधनले एक सच्चा र असल नेता गुमेको बताएका छन्।

गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले बताएका हुन्।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ सामाजिक सञ्जाल फेसबुकमा देउवाले लेखेका छन्,‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

गिरिको निधनबाट मर्माहत भएको छु – केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गिरिको निधनबाट आफू मर्माह भएको बताएका छन्।

‘चिन्तशील राजनीतिकर्मी, मित्र प्रदिप गिरिको निधनबाट मर्मात भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

राजनीतिमा अभावको अनुभूति भएको छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेता गिरिको निधनबाट समकालीन राजनीतिमा अभावको अनुभूति भएको बताएका छन्।

‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्र िहार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्।

वैचारिक खडेरी अन्त्य गर्ने सहकार्य अधुरो रह्यो – बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस नेता गिरिको निधनले अहिलेको वैचारिक खडेरी चिर्ने सहकार्य पूरा हुन नसकेको बताएका छन्।

‘प्रदीजी, छिटै छोडेर जानुभयो। अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो,’ भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाउन। तपाईंले राजनीतिमा गहन वैचारिक त्याग र जुन मानक छोड्नुभएको छ त्यो सँधै रहिरहनेछ।’

स्तब्ध भएको छु – निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेता गिरिको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

शनिबार राति जनकपुर पुगेका निधि गिरीको निधनपछि आइतबार बिहानै काठमाडौं आउन लागेको जनाएका छन्।

गिरिको निधनप्रति भारतीय नेता मोहन प्रकाशले फोन गरेर श्रद्धाञ्जली व्यक्त गरेको समेत उनले बताएका छन्।

‘भारतीय नेता मोहन प्रकाशीले भर्खरै फोन गरेर प्रदीप गिरिजीको निधनमा शोक र श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ,’ सामाजिक सञ्जाल ट्विटरमा निधिले लेखेका छन्,‘भारतमा पढ्दा र समाजवादी आन्दोलन एवं अभियानसँग जुड्दादेखिका धेरै नेताहरू प्रदीपजीका मित्र पनि छन्, अनुयायी पनि छन्।’

निधिले दुई दिनअघि मेडिसिटी अस्पताल पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

त्यस्तै उपचारका सिलसिलामा भारतको मुम्बईमा छँदा उनी त्यहाँ पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

समकालीन राजनीतिमा गहिरो अभावको अनुभूति भएको छ – देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गिरिको निधनले समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भइरहेको बताएका छन्।

‘नेपाली राजनीतिको बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका आदरणीय नेता प्रदीप गिरिको निधनले स्तब्ध छु,’ गुरुङले लेखेका छन्,‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’

लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति – मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले कांग्रेस नेता गिरिको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको बताएका छन्।

‘पार्टीभित्र र बाहिर जनविरोधी विचारको प्रखर आलोचक नेपाली कांग्रेसका नेता प्रदीप गिरि दाइको निधनले लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन्।