कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारी, कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरुमा समानता हुनुपर्ने बताएका हुन्।
अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिए।
‘अस्थायी करार र ज्यालादारी कर्मचारीहरुका आफ्नै व्यथा छन्। संगैको साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरुको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन्,’ मन्त्री कुँवरले भने, ‘अर्को सँगैको साथी बिसौ वर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर, उसले जागीरबाट फर्कदाखेरी रित्तो हात फर्कनुपर्ने अवस्था छ। यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ।’
मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरु समेटिनुपर्ने बताए।
समाजिक सुरक्षा कोषको दायरमा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको तथ्याङ्क संकलन गरी अर्थ मन्त्रालयमा फायल पठाइसकिएको पनि उनले जानकारी दिए
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई मन्त्री कुँवरले उक्त फायलबारे आवश्यक निर्देशन गरिदिन समेत आग्रह गरेका थिए।
जवाफमा अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा बखत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गरेको स्मरण गराउँदै आफू जहिले पनि मदजुरहरुको पक्षमा रहेकाले करार र ज्यालादारी कर्मचारीका उचित मागबारे सरकार र सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिए।
ताजा अपडेट
