शून्य लागतमा १ हजार नेपाली युवा मलेसिया जान पाउने

शून्य लागतमा १ हजार नेपाली युवा मलेसिया जान पाउने

काठमाडौं। मलेसियाकोे माइ टेक एण्ड एसेम्ब्ली एसडीएन बीएसडी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। यो अन्तर्राष्ट्रिय कम्पनी हो।

बिहीबार काठमाडौंको रेडिसन होटलमा कार्यक्रम गरेर यो कम्पनीले शून्य लागतमा १ हजार नेपाली श्रमिक लैजाने घोषणा गरेको हो।

त्यसका लागि कम्पनीले काठमाडौंस्थित म्यानपावर व्हाईट हर्ष रिक्रुटमेन्टसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट कम्पनीका मानव संसाधन निर्देशक माइकल ली र व्हाईट हर्ष रिक्रुटमेन्टका तर्फबाट अध्यक्ष सागर गिरी र कार्यकारी निर्देशक राजन श्रेष्ठले हस्ताक्षर गरेका छन्।

पहिलो चरणमा १ हजार नेपाली युवा (पुरुष) लैजान थालेको मानव संसाधन निर्देशक माइकल लीले बताए।

नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको मानव संसाधन निर्देशकसहितको उच्च व्यवस्थापक टोली काठमाडौं आएको हो। शुक्रबार, शनिबार र आइतबार श्रमिक छनोटका लागि फाइनल अन्तर्वार्ता तोकिएको छ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने मानव संसाधन निर्देशक माइकल लीले बताए।

उनले पत्रकारसँग कुरा गर्दै कम्पनी आकर्षक भएको दावी गरे। आफ्नो कम्पनीले मलेसियाको श्रम कानूनअनुसार श्रमिकलाई सेवा–सुविधा उपलब्ध गराउँदै आएको उनले बताए।

मानव संसाधन निर्देशक माइकल लीकाअनुसार मलेसियामा मात्रै कम्पनीका ४ वटा उद्योग छन्। कम्पनीमा अहिले पनि विभिन्न देशका ३ हजारभन्दा बढी श्रमिकले काम गरिरहेका छन्। तीमध्ये झण्डै ४ सय श्रमिक नेपाली हुन्। कम्पनीले सरससफाइका लागि प्रयोग हुने भ्याकुमहरु बनाउने काम गर्छ।

‘हाम्रो कम्पनी बहुराष्ट्रिय कम्पनी हो। कम्पनीले उत्पादन बढाउन थप उद्योग सञ्चान गर्दै त्यसैले हामीलाई श्रमिक आवश्यकता परेको हो,’ उनले भने, ‘नेपालबाट सुरुमा १ हजार श्रमिक लैजादैछौँ।’ उनले थप १ हजार श्रमिक दोस्रो चरणमा लगिने समेत बताए।

नेपाली श्रमिक परिश्रमी र इमान्दार हुने भएकाले आफ्नो पहिलो रोजाइमा परेको उनले सुनाए।

कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा पनि आफ्नो कम्पनी सचेत रहेको उनले बताए।

कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम मासिक तलब १ हजार ५ सय मलेसियन रिंगेट उपलब्ध गराउने जनाएको छ। दैनिक दुई घण्टा ओभर टाइम हुनेछ। बस्नको लागि होस्टल कम्पनीले उपलब्ध गराउनेछ भने खाना श्रमिक आफैले व्यवस्था गर्नुपर्नेछ।

न्यूनतम तलबका अतिरिक्त कम्पनीले बोनस समेत उपलब्ध गराउनेछ।

व्हाईट हर्ष रिक्रुटमेन्टका कार्यकारी निर्देशक श्रेष्ठले श्रमिकको न्यायोचित छनोटको सुरुआत गरिएको बताए। उनले योग्य व्यक्ति शून्य लागतमा मलेसियामा जान सक्ने बताए।

अन्तर्वार्तामा छनोट भएका श्रमिक एक रुपैयाँ पनि नतिरी मलेसिया उड्न सक्ने छन्। नेपालमा हुने मेडिकल, डकुमेण्ट प्रोसेसिङलगायतका सबै खर्च कम्पनीले नै बेहोरिदिने बताइएको छ।

मलेसियाली सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएसँगै नेपाली श्रमिकको आकर्षण बढ्न थालेकाे छ।

मलेसियालीले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक १ हजार ५ सय मलेयिन रिंगेट लागू गरेको छ।