एमालेको विरोधकाबीच नागरिकता विधेयक पारित
काठमाडौं। नागरिकता ऐन संशोधन गर्न बनेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विधेयक बिहीबार प्रतिनिधिसभा बैठकबाट हुबहु पारित भएको हो।
यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाइदिएकी थिइन्।
विधेयक फिर्ता भएपछि साउन ३१ मा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु पारित गर्ने निर्णय गरेको थियो।
‘हुन्छ हुन्न’ भनेर विधेयक निर्णयार्थ पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन प्रक्रियाबाट विधेयक पारित गर्न माग गरेको थियो।
एमालेले गरेको मागअनुसार मत विभाजन प्रक्रियाबाट विधेयक पारित भएको हो।
नागरिकता विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो। बैठकमा १९५ सांसद उपस्थित थिए।
संसदका दुवै सदनबाट पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए।
तर, राष्ट्रपतिले १५ बुँदे संदेशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्।
प्रतिनिधिसभाबाट पारित भएको विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ। राष्ट्रियसभाबाट पारित भइसकेपछि प्रमाणीकरणका लागि विधेयक पुनः राष्ट्रपतिसमक्ष जानेछ।
दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले फिर्ता गर्न नपाउने संवैधानिक व्यवस्था छ।