प्रवासी नेपालीका चुनावी नजर : कस्तो नेता, कस्तो निर्वाचन ?

प्रवासी नेपालीका चुनावी नजर : कस्तो नेता, कस्तो निर्वाचन ?

नेपालमा स्थानीय चुनाव सकिएको छ। आगामी ४ मसिरमा संसदीय चुनाव हुँदैछ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने सरकारको तयारी छ।

चुनाव नजिकिँदै जाँदा चर्चित सञ्चारकर्मी, उच्च पदस्थ व्यक्तिहरूले आफ्नो पेशा परिवर्तन गर्दै नयाँ दल खोल्ने होड़बाजी पनि चलिरहेको छ।

पुराना पार्टीमा वैचारिक सैद्धान्तिक असमानता, पदीय बाँड़फाँट, लोभका कारण पछिल्लो समय फ्रन्टलाइनमा आउने मनसाय तीव्र देखिन्छ।

नेपालमा राजनीतिक सामाजिक परिवर्तन सँग–सँगै विभिन्न चरित्र र चित्रका नेताहरूको आगमन र बहिर्गमनले ठूलो फड्को मार्‌यो।

समयको मागसँगै देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ र नेपाली राजनीतीमा पुस्तान्तरण हस्तान्तरणको  बहस पनि नदेखिएको पक्कै होइन।

अहिलेको वर्तमान राजनीतिक परिवेशलाई हेर्दा नेपालका राजनीतिक दलका प्राय सबैका अलग अलग अजेण्डा, मुद्दा एवम् सत्तामोहको गम्भिर चपेटामा रहेका बेला प्रवासमा रहेका नेपाली अब आउने निर्वानलाई कसरी लिएका छन् ? के अभिब्यक्ति दिइरहेका छन्? उनीहरूको जवाफ खोज्ने प्रयास गरिएको छ।

पुराना राजनीतिक पार्टीप्रतिको वितृष्णा र घृणा हो : सिजन केसी, दुबई–यूएई

यो मुख्यत: पुराना राजनीतिक पार्टीप्रतिको वितृष्णा र घृणा हो। आफूले ५ वर्षका लागि पठाएका जनप्रतिनिधि गरिव जनताको करबाट आफ्नै सेवा सुविधा वृद्धि गर्न उद्दत छन्। यिनीहरू यत्तिमा मात्र सिमित छैनन्, पदीय मर्यादाको ख्याल नगरी नितिगत भ्रष्टाचार, कालोबजारी, ठेक्कापट्टा, तस्करी, बलात्कार जस्ता कानुन हातमा लिएर अपराध गरिराखेका छन्।

यसको विकल्पमा अहिलेका हजारौँ युवापुस्ता देश परिवर्तनको संवाहक बनेर देश दौडाहामा छन्। यसको उदाहरण भर्खरै भएको स्थानीय चुनावमा काठमाडौं महानगर, धनगढी र धरानमा उपमहानगरमा स्वतन्त्र उम्मेदवार भारी मतले विजयी भएर कार्यसम्पादन गरिराखेका छन्।

मंसिरमा हुने संघीय निर्वाचनमा पनि छुट्टै दल दर्ता वा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने ट्रेन्ड नै चलेको छ। देशमा बढेको बेथिति विरूद्द आवाज उठ्न थालेको छ। अहिले सिंहदरबारमा भएको कालो कर्तुत (बेथिति) विरूद्ध नागरिकले मोबाइलबाटै विरोध गर्छन् र सजक पनि गराउँछन्।

केही नेता र उसका टुकडी आफ्नै पार्टीबाट भागबन्डमा चित्त नबुझेर जनता झुक्याउन पुरानो बोतलमा नयाँ बिर्को लगाएझैं गरेर केही जिल्ला दौडामा रहेका छन्। तिनीहरूलाई हामी जनताले मंसिरमा हुने निर्वाचनमा कहिल्यै उठ्न नसक्नेगरि पल्टाउनुपर्छ। आउने संघीय निर्वाचनमा एक निडर, राष्ट्र, राष्ट्रियता र कानुनलाई कार्यन्वयन गर्दै जनतालाई सर्बोपरि ठानी देशलाई समृद्धिको बाटोमा डोर्‌याउने निडर नेता छान्न जनताले आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्नेछन्।

पुरानालाई सच्चिन दवाव : अर्जुन आचार्य, दक्षिण कोरिया

स्थानीय चुनाव सकिएर अर्को संसदीय निर्वाचन नजिकिँदै जाँदा पत्रकार तथा अन्य क्षेत्रका व्यत्तिले गरेको उम्मेदवारी घोषणालाई मुख्यत: असफल राजनिती, भ्रस्टाचार,कानुनविपरीतको काम, नातावाद कृपावाद , देश विकास नहुनु, बेरोजगारलगायतका धेरै कुरा छन्।

अर्कोतर्फ हेर्ने हो भने स्थानीय चुनावमा स्वतन्त्र उमेदवारलाई जनताले गरेको विश्वासले अब जनतामा पनि स्वतन्त्र चेत पसेको बुझ्न गाह्रो छैन। यसले केही गर्नसक्छु भन्नेलाई हौसला बढेको हुनसक्छ।

यो हाम्रो जस्तो पिछडिएको समाजको लागि खुसीको कुरा हो। नयाँ व्यक्ति वा पार्टी आउनुले पक्कै सकारात्मक प्रभाव पार्छ। पुरानोलाई सच्चिने दबाब हुनेछ। यस्तै नयाँले अवसर पाएमा केही गरेर देखाउनुपर्ने भएकोले समाजलाई एक कदम भए पनि अगाडी जान सहयोग पुग्ने अपेक्षा छ।

नयाँ अनुहारलाई अवसर दिनुपर्छ : समिर दाहाल, फुजेरा–यूएई

पचास वर्षभन्दा बढी भइसक्यो यिनीहरुले राजनीतिक गरेको। पटक–पटक  सत्ता चलाए। अब फेरि पनि एउटै पार्टी? उही अनुहारलाई अवसर?

म त भन्छु– देशमा परिवर्तन हाम्रै पालामा सम्भव छ।

अब यस्ता भ्रष्टाचार, विचौलिया, बेथिति, विसंगति, विकृति, कुकृती, लाजनीति, कुसंस्कृती,कुरीति,कुशासन, ठगबन्धन, गर्ने यी नेतालाई पत्ता साफई गर्नुको निम्ती।

काममा पनि आफूलाई सक्षम प्रमाणित गर्न सफल भएका उम्मेदवारलाई जनताले राष्ट्रको सत्तामा पुर्‌याउनुपर्छ।

पार्टीको सिद्धान्त र विचार बोकेर भाषण गर्दै हिँड्ने तर, व्यवहारमा प्रयोग गर्न नसक्ने, पद र कुर्सीमा बढ़ी नै लिप्त हुने बहुसंख्यक भएका कारण अझै पनि देशले चाहेजति गति लिन सकिरहेको अवस्था छैन।

त्यसैले सोच बदलौ, भोट बदलौ, भाग्य बदलौ, देशका नेता बदलौ, भ्रष्टलाई होइन राम्रोलाई रोजौँ। होइन भने फेरि रुँदै बसौँ।

आमजनता वाक्क छन्, परिवर्तनको खाँचो छ : कृष्णविक्रम भण्डारी, साउदी अरब

देशमा हरेक व्यवस्था परिवर्तन हुँदै गर्दा, आम सर्वसाधारण नागरिकमा छुट्टै प्रकारको आशा जाग्ने गर्दछ। तर, विभिन्न समयमा देशमा व्यवस्था परिवर्तन हुँदै, लोकतन्त्र र गणतन्त्र जस्ता व्यवस्थाले नागरिकलाई लोभ्याउने स्थिति त बनायो।

तर, ‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तै अझै ‘हात्ती आयो–हात्ती आयो फुस्स’ जस्तै बनाउँदै आइरहेका छन्। राजनैतिक दल र नेताहरुसँग आमजनता वाक्क छन्।

जनताले देशमा परिवर्तन चाहेका छन्। त्यसैले जसले नयाँ स्वरुपमा आफ्नो दलसँगै केही खास एजेण्डा जनता सामु पुर्‌याउने गरेका छन्। त्यस्तै नेताहरुलाई आम जनताले पछ्छ्याउन थालेको परिणामहरु विगतको स्थानीय तहको निर्वाचनले देखाएको छ्।

बालेन शाह, गोपाल हमाल र हर्क साम्पाङ्ग राई यसका उदाहरण हुन्। त्यसैले पनि आगामी ४ मङ्सिरको संसदीय चुनावमा राष्ट्रमा केही गरेर देखाउने हुटहुटी हुने साथै चर्चित पत्रकारलगायत उच्च पदस्थ व्यक्तिहरूले नयाँ दल र नयाँ एजेण्डाहरू लिएर जनतासामु पुग्ने होडबाजी वा चाहना भएको देखिन्छ।

जनताले बुझे भने देशले कोल्टे फेर्नेछ : लेखनाथ शर्मा, बेलायत

१२ वर्ष झोलाभरि बोकेको कितावले नबुझेको जिन्दगी १२ पानाको पासपोर्टले पूरै जिन्दगी के हो? भनेर बुझाएको बेलामा हामी आफ्नो जन्मभूमि छाडेर पराई देशमा दस नंङग्रा खियाउनुको पीड़ा तितो छ।

तर, अहिलेको चुनावमा दल गत खिचातानी, अहंताले आजकल मलाई लाग्छ यो हुटहुटी, चाहना र होडबाजी आम सचेत नागरिकमा हुनु स्वभाविक नै हो।

किनकी नेपालमा हाल सम्मको राजनीतिक स्थिरता परम्परागत राजनीतिक शैली, कुनै पनि ब्यक्तिमा नेत्तृत्वदायी भूमिका, असमान विधि र पद्धति, हैकमवादी शासन प्रणालीआदि जस्ता कुराले गर्दा अहिले युवा पुस्तामा यी धारणा र विचार आउनु स्वभाविक हो।

अब आउने नेतृत्व तहले विचार पुर्‌याएर र जनताले पनि सही व्यक्ति छानेर नीतिगत तहमा पुर्‌याउन सके देशले कोल्टे फेर्नेछ।

पुराना दलप्रति जनतको विश्वास घटेको छः अर्जुन शर्मा पौडेल,  भारत

दुनियाँमा कुनै पनि देशको राज्यसत्ता त्यो देशको एकमात्र चाबी हो। जसले देशलाई कुन गतिमा, कुन दिशामा अग्रसर गराउने हो भन्ने कुराको एकीन गर्नेगर्छ।

हाम्रो देशको परिप्रेक्षमा राज्यसत्ताको सञ्चालन भनेको जनताले मतदान गरेर पठाएका जनप्रतिनिधिहरूबाट हुने गरेको छ।

अहिले नेपालमा देखिएको अराजकता, भ्रष्टाचार अनि जनताद्वारा चुनिएका जनप्रतिनिधिको लाचारी पनले कसैमाथि विश्वास गर्ने ठाउँ नरहेकोले जनताहरुले स्वतन्त्र उमेदवारहरुलाई रोज्न थालेका छन्।

पार्टी भन्दा व्यक्ति ठूलो हो भन्ने कुराको एकिन दिलाउन आफ्नो अमुल्य मताधिकार प्रयोग गरी देशलाई नयाँ  विकाशको मार्गमा अग्रसर गराउन सक्ने नेतृत्वको खोजीमा चर्चित पत्रकार, उच्चपदस्थ ब्यक्ति अनि सैद्धान्तिक र बैचारिक मतभेद राख्ने ब्यक्तीप्रति जनताको आकर्षक बढेको र पुराना पार्टीप्रतिको वितृण्णालाई समाप्त पार्न यो होडबाजी चलेको देखिन्छ।

स्थानीय निर्वाचनको परिणाम आक्रोश झल्काएको छ : प्रेम खडका, जापान

आजित भएर दलहरूसँग आक्रोशित जनताले भर्खर मात्रै सकिएको स्थानीय निर्वाचनमा राम्रै आक्रोश पोखेको देख्न सकिन्छ। जसको उदाहरण हुन काठमाडौं महानगरका मेयर बालेन्द्र साह र धरान उप-महानगरपालिकाका हर्क साम्पाङ राई लगायतका विभिन्न स्वतन्त्र उम्मेदवारहरूको विजयी यात्रा, जनतामा राजनीतिक दलप्रति वितृष्णा लागेको सहजै महशुस गर्न पाईन्छ।

अब आउँदै गरेको संसदीय चुनावमा चर्चित सञ्चारकर्मी, उच्च पदस्थ व्यक्ति र आफ्नै पार्टीमा भागबण्डा नमिलेर नयाँ दल गठन गरी निर्वाचनमा होमिनेको लामो लर्को छ।

जनताले नेपालका प्रत्येक बहुदलीय नेताहरुलाई निर्वाचित गरेर हेरिसके अब नयाँ जोश जाँगर र दलीय पद्धति बाहिरका भ्रस्टाचार विरोधी राष्ट्रलाई निस्वार्थ माया गरी बिकास गर्ने खालका ब्यक्तिहरूको चुनाबी एजेण्डा हेरी मतदान गर्ने छन भन्ने लागेको छ।

अझै पनि पार्टीका झोला बोकेर सिद्धान्तको ज्ञान दिने तर, देश विकास नगरी बजेट नेताका झोले र पार्टीलाई सहयोग गर्ने गुण्डाहरुलाई खान दिई अब पनि भ्रस्टाचार गर्नेहरूलाई मतदान दिनु भनेको आफ्नै घर खेत अनि रगत पसिना दिए सरह हो।

त्यसैले यसपालीको निर्वाचन देशप्रेमी युवालाई मतदान गनुपर्छ। समय बेलैमा होस पुर्‌याऔं र देश विकासमा मद्दत गरौँ।