३ अर्ब ६९ करोडभन्दा बढीको विदेशी सुर्तिजन्य पर्दाथ नेपाल आयात

३ अर्ब ६९ करोडभन्दा बढीको विदेशी सुर्तिजन्य पर्दाथ नेपाल आयात

काठमाडौं। नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रने गरेको पाइएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको छ।

गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ।

सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ।

पछिल्लो समय नेपालमा हुक्काको पारखीहरु पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ। गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको विभागले जनाएको छ।

विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो।