नेपालबाट एक वर्षमा करिव ३ अर्बको कुकुर र बिरालोको खाना विभिन्न देशमा निर्यात
काठमाडौं। नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ।
सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ।
ब्राजिल,कम्बोडिया,क्यानडा,चीन,फ्रान्स,जर्मनी,ग्रिस,हङकङ,इन्डोनेसिया,जापान,दक्षिण कोरिया,मलेसिया,नेदरल्याण्ड्स ,फिलिपिन्स, पोल्याण्ड,पोर्चुगल,कतार, सेन्ट हेलेना,सिंगापुर,स्लोभाकिया,दक्षिण अफ्रिका,स्पेन,स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड,युनाइटेड अरब इमिरेट्स,बेलायत,अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ।
नेपालबाट सबैभन्दा ठूलो मात्रामा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ। विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेको छ।
गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँ,कम्बोडियाले १ करोड ४३ लाख ३९ हजार रुपैयाँ, हङकङले १ करोड १९ लाख १३ हजार रुपैयाँ,जापानले ३ करोड ५ लाख ६८ हजार रुपैयाँ,नेदरल्याण्ड्सले १ करोड ९३ लाख ५० हजार रुपैयाँ,सिंगापुरले १ करोड २९ लाख ८५ हजार रुपैयाँ र बेलायतले ३ करोड २८ लाख ५४ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९९८ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको थियो।