पदाधिकारीलाई सचिवालयका कर्मचारीको निर्देशन- ‘मिडिया टास्कफोर्स’ हामी अनुकुल बनाउनू
सिइओसँग स्पष्टीकरण माग्ने तयारी

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटरस्थित सचिवालयमा कार्यरत कर्मचारीले संघको मिडिया समिति आफूहरू अनुकुल बनाउन पदाधिकारीलाई ‘निर्देशन’ दिएका छन्।
संघले आइतबार बनाएको ‘मिडिया टास्कफोर्स’ प्रति आपत्ति जनाउँदै कर्मचारीहरूले नेपालबाट समावेश भएका पत्रकारको नाम हटाउन माग गरेका हुन्।
सोमबार महासचिवहरूलाई सचिवालयबाट पठाइएको इमेलमा आफू अनुकुल समाचार नलेख्ने पत्रकारलाई हटाउन भनिएको छ।
‘हाम्रै लेविबाट तलब खाएर काम गर्ने कर्मचारीले यो गर्नू, त्यो नगर्नू भनेर उल्टो सिकाउन थाले। यो गम्भिर विषय हो। संस्थाका पदाधिकारीबीचको एक–आपसको खिचातानीले कर्मचारीले नै हेप्ने अवस्था आयो,’ एक उच्च पदाधिकारीले भने।
सचिवालय कर्मचारी परिवार भनेर इमेल पठाइएपनि त्यो इमेल एक-दुई जनाको मिलेमतोमा पठाएको आशंका पदाधिकारीले गरेका छन्। इमेल कसले पठाएको हो भन्ने विषयमा आइसीसीले छानविन गर्ने जनाएको छ।
उक्त समितिमा सचिवालयले गरेका राम्रा काम लेख्ने पत्रकारलाई मात्र समावेश गर्नुपर्ने माग गरिएको छ। तर, समितिमा नराख्न भनिएका नराम्रा समाचार लेख्ने पत्रकार को हुन् भन्ने उल्लेख छैन।
‘समितिमा कस्ता मान्छेलाई राखियो, उचित हो–होइन भन्ने त्यो एउटा पाटो होला। त्यसको मुल्यांकन आइसीसीकै पदाधिकारीबाट हुनुपर्छ। तर, आइसीसीका पदाधिकारीलाई निर्देशन दिने हैसियत कर्मचारीको पक्कै होइन। कर्मचारीले आफ्नो काम गर्ने हो,’ एक पदाधिकारीले भने।
पत्रकारकै आपत्ति
संघले आफ्नो अभियान र गरेका राम्रा कामलाई सही ढंगले बाहिर ल्याउनका लागि सन् २०१९ देखि मिडिया टास्कफोर्स बनाउन थालेको हो। यो अवधारणा तत्कालीन महासचिव डा. हेमराज शर्माको थियो।
यो समितिको काम सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने तथा संघको उद्देश्य र अभियानमा टेवा पुर्याउनु थियो। यस्तै राम्रो कामको प्रचार–प्रसार तथा नराम्रो काम र वेथितिविरुद्ध औंला उठाउँदै सुझाव दिने दायित्व पनि यो समितिको थियो।
तर, यो समितिको प्रगती लगभग शून्य जस्तै भयो। महामारीका बेला विदेशमा बस्ने कति नेपाली कोभिडबाट संक्रमित भए भन्ने सामान्य डाटा भने निकालेर यो समितिले सार्वजानिक गरेको थियो। त्योबाहेक खासै रचनात्मक काम यो समितिले गरेन। केवल ‘आउटलेट’ले प्रकाशन गर्ने भन्दै कोषको पैसा मात्र खर्च गर्यो।
अहिले बनाइएको समितिमा जम्बो टोली छ। तर, प्रवासी नेपालीका बारेमा कलम चलाउनेहरूको संख्या ज्यादै न्यून छ। समिति गठन गर्दा छलफल नै नगरी गरिएको भन्दै समितिमा राखिएका पत्रकारहरुले विरोध जनाइसकेका छन्।
एनआरएनएको विषयमा सक्रिय र नियमित रुपमा कलम चलाउने ददी सापकोटा, बसन्त रानाभाट, बिनेश खनाललगायतका पत्रकारहरूले विरोध जनाएका हुन्।
‘मिडिया टास्कफोर्स बनाउनु राम्रो कुरा हो। संघका जायज मुद्दा र अभियानलाई सहयोग गर्न हामी तयार छौं,’ पत्रकार सापकोटाले भने, ‘ यो समितिमा पत्रकारिता बुझेका १० प्रतिशत पनि छैनन्। मिडिया नै नबुझ्ने यो समिति ठिक छैन। मलाई स्वीकार्य छैन।’ पत्रकार सापकोटा पेरिसबाट नेपाली पत्रकारितामा निरन्तर कलम चलाउँछन्।
उनले थपे, ‘मिडिया नबुझेका गैर–पत्रकारहरूलाई यो समितिमा राखिएको छ। यस्तो समितिमा बस्न नैतिकताले पनि दिँदैन।’ उनले समितिमा पदको वर्गीकरण अनुभव र क्षमताको आधारमाभन्दा पनि आफू निकटको आधारमा गरिएको भन्दै आपत्ति प्रकट गरे।
यस्तै पत्रकार रानाभाट र खनालले पनि समितिमा नबस्ने बताइसकेका छन्। एनआरएनएको सकारात्मक अभियान र उसले गर्ने राम्रा कामप्रति आफ्नो सदैव सहयोग रहने तर, यसभित्रका विकृति, विसंगति र अनियमितताविरुद्ध आफूले सशक्त रुपमा कलम चलाउने पत्रकार खनालको भनाइ छ। उनले आफू कुनै विज्ञ नभइ एक पत्रकारमात्रै भएको बताए।
मिडिया टास्कफोर्ससँग किन झस्किए कर्मचारी?
समितिमा समावेश भएका केही पत्रकारले एनआरएनएका विभिन्न कार्यक्रम तथा परियोजनमा संस्थाको विधि–विधान मिचेर मनपरी खर्च गर्ने, आर्थिक दुरुपयोग र गलत तरिकाले कार्यक्रम गर्नेविरुद्ध समाचार लेखिरहेका थिए।
सचिवालयभित्रबाट हुने नीतिगत वेथिति, अस्थाइ कर्मचारीमाथि हुने विभेद लगायतका समाचार प्रकाशन भएका थिए। आफूहरुले गरेका गलत कामको पर्दापास हुन थालेपछि कर्मचारीको टाउको दुख्न थालेको थियो।
समाचार सार्वजानिक भइसकेपछि संघको कोषाध्यक्ष मण्डलले पनि यसमा चासो देखाउँदै कडाइ गर्न थालेको छ। कर्मचारी झस्किएको कारण यही हो।
उनीहरुले भनेजस्तो पत्रकारहरुले संस्थाको बारेमा नराम्रो मात्रै लेखेका छैनन्। संघको अभियान र उसले गरेका राम्रा कामप्रति पत्रकारहरुले सहयोग गरिरहेका छन्।
पत्रकारलाई मिडिया समितिमा नराख्दा सूचना पाउँदैनन् भन्ने ‘भ्रम’ कर्मचारीमा देखिन्छ।
तलब खाएर काम गर्न बसेका कर्मचारीले आफू अनुकुल समाचार लेख्नेलाई मात्र मिडिया समितिमा राख्नु भनेर गैर–जिम्मेवार इमेल पठाएपछि अहिले संघभित्र कर्मचारीको ‘काम र कर्तव्य’ के हो भनेर प्रश्न समेत उठिरहेको छ।
सिइओसँग स्पष्टीकरण माग्ने तयारी
संघको सचिवालयमा प्रमुखको जिम्मेवारीमा रवीकिरण अधिकारी छन्। अधिकारीले गत शुक्रबार मात्रै आफ्नो जिम्मेवारी सम्हालेका थिए। एनआरएनए सचिवालयभित्रको राजनीति र गुटबन्दीबारे उनी जानकार छैनन्।
सोमबार महासचिवलाई पठाइएको इमेलमा सचिवालय परिवार भनिएको छ। तर, सचिवालयकै एक कर्मचारीका अनुसार उक्त इमेल एक अधिकृतले आइटी टीमलाई दवाव दिन लगाएर पठाइएको थियो। यसमा सबै कर्मचारीको संग्लनता नरहेको देखिन्छ। इमेल नपठाउन भन्दा–भन्दै इमेल पठाइएको ती कर्मचारीको भनाइ छ।
सबै कर्मचारीको सल्लाहमा पठाइएको थियो भने त्यो इमेल सिइओमार्फत जानुपर्थ्यो। किनभने सचिवालयको प्रमुख अधिकारी हुन्। आफ्नो कामसँग सम्बन्धितबाहेक अरु कुरामा इमेल गर्ने अधिकार कर्मचारीको होइन। यसमा कर्मचारीले आफ्नो मर्यादाक्रम बिर्सेका छन्। कर्मचारीले सिइओलाई नै घुमाउन खोजेको देखिन्छ।
प्राप्त जानकारीअनुसार यसविषयको जानकारी अधिकारीलाई दिएको थिएन। अधिकारीको धारणा भने अझै बाहिर आएको छैन।
महासचिव गौरीराज जोशीले पनि कर्मचारीले त्यसरी इमेल गर्न नहुने बताउँछन्। ‘हामीले बुझ्दैछौँ। त्यसरी भन्न उनीहरूले मिल्दैन,’ उनले भने।
संघको नवगठित मिडिया समितिका पदाधिकारी कर्मचारीले पठाएको इमेल देखेर आश्चर्यमा परेका छन्। समितिले यसविषयमा सचिवालय प्रमुखसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ।
‘पत्रचार गरेर स्पष्टीकरण सोध्दैछौँ। यसविषयमा सिइओको जवाफ आएपछि थप निर्णय लिन्छौँ,’ समितिका एक पदाधिकारीले प्रवास खबरसँग भने, ‘सिइओ नयाँ हुनुहुन्छ। कर्मचारीलाई ‘टाइट’ गर्नुपर्ने देखिएको छ।’
ताजा अपडेट
