‘टुरिजम प्रमोटका लागि दुबईमा कार्यक्रम गर्न लागेकी हुँ, विरोध किन ?’

‘भारतीय कलाकार नेपाल आउँदा मन्त्रीले नै स्वागत गर्ने अनि मैले राजेश हमाललाई दुबई लैजाँदा विरोध ?’

‘टुरिजम प्रमोटका लागि दुबईमा कार्यक्रम गर्न लागेकी हुँ, विरोध किन ?’

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने भन्दै आयोजना गरिएको सांस्कृतिक कार्यक्रमबारेमा कार्यक्रमकी प्रमुख पुनम यादवले स्पष्टिकरण दिएकी छिन्।

यसविषयमा प्रवास खबरले आइतबार प्रकाशन गरेको समाचारको खण्डन गर्दै पुनमले कार्यक्रम विशुद्ध पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको दावी गरेकी हुन्।

पुनम राजनीतिमा सक्रिय छिन्। उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्।

प्रवास खबरसँगको कुराकानीमा पुनमले उक्त कार्यक्रमको निर्देशक आफू भएकोे बताइन्। कार्यक्रममा आफूबाहेक अन्य कुनै लगानीकर्ता नभएको उनको दावी छ।

उनले आफ्नै ‘रिक्स’मा कार्यक्रम आयोजना गरेको बताइन्। अन्य व्यक्तिहरु कार्यक्रमकाे व्यवस्थापनमा मात्र खटिएको उनको भनाइ छ।

‘कार्यक्रमकी डिरेक्टर म हुँ । अरु कोही छैन। अरु कार्यक्रम व्यवस्थापनमा खटिएका मात्र हुन्। मैले आफ्नै रिक्समा कार्यक्रम गर्ने आँट गरेकी हुँ,’ उनले भनिन्।

उनले दुबईमा कार्यक्रम गर्न आफूले नेपालको पर्यटन बोर्डसँग समन्वय गरेको दावी गरिन्। तर, पर्यटन बोर्डले भने यसबारेमा कुनै जानकारी नभएको बताएको छ। ‘यस विषयमा जानकारी छैन। कतै कार्यक्रम गर्न अहिले बजेट पनि छैन,’ पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले भने, ‘सायद दुबईमा कार्यक्रम गर्न बोर्डबाट स्वीकृति दिइएको पनि छैन होला। मलाई त्यस्तो लाग्दैन।’

तर, पुनमले भने बोर्डसँगको समन्वयमै कार्यक्रम गर्न लागेको बताएकी छिन्। उनले आक्रोशित हुँदै भनिन्, ‘पर्यटन बोर्डबाट पनि स्वीकृति लिएकी छु। कस्ले भन्छ लिएको छैन ? स्वीकृति लिएर नै कार्यक्रम गर्न लागेकी हुँ। हुनत पर्यटन बोर्डमा पनि त्यस्तै मान्छे छन्।’

उनले कार्यक्रमको लगानीबारे शंका नगर्न आग्रह गरेकी छिन्। दुबईमा रहेका आफ्ना भाइहरुको कम्पनीले सहयोग गरेका कारण कार्यक्रम गर्न सम्भव भएको उनको भनाइ छ। उक्त कार्यक्रममा आफ्नो १० लाख मात्र लगानी रहेको उनले बताइन्। ‘मेरो लगानी १० लाख रुपैयाँ मात्र हो। त्यहि पनि नेपालमा कलाकारहरुलाई दिने हो। त्योभन्दा बढी अरु लगानी केही छैन,’ उनले भनिन्, ‘यसमा कालो धन यता उति भनेर शंका गर्नुपर्दैन।’

पुनमको भनाइ जस्ता त्यस्तै–

मेरो लगानी दश लाख नेपाली रुपैयाँ मात्रै हो। त्यो पनि नेपालबाट जाने कलाकारहरुलाई दिने हो। त्योभन्दा बढी अरु लगानी केही छैन। मैले नेपालबाट दुबई पैसा लैजान लागेको पनि होइन। हिम्मत गरेर कार्यक्रम गर्न लागेकी हुँ। यसमा कालो धन यता–उति भनेर शंका गर्नुपर्दैन।

मलाई कार्यक्रम गर्न दुबईको ‘ब्लुचीप’ भन्ने कम्पनीले मुख्य प्रायोजन गरेको छ। कार्यक्रममा ठूलो खर्च हुने भनिएता पनि त्यति धेरै खर्च हुँदैन। किनभने हलको भाडा स्पोन्सरले तिर्छ। ‘ब्लुचीप’ कम्पनीले दुबईमा रियलस्टेडको काम गर्छ। यसका सञ्चालक मेरा भाइहरु हुन्। उनीहरु भारतका हुन्, रवीन्द्र सोनी र सुरज जुहानी। उनीहरुले मलाई दिदी मान्छन्।

यसबाहेक दुबईमा अरुले पनि स्पोन्सर गरेका छन्। अहिले कलाकारहरुको लागि हवाइ टिकट पनि उधारोमा खरिद गरेकी छु। कार्यक्रमको टिकट, स्पोन्सरवापतको पैसा आएपछि तिर्छु भनेकी छु। दुबईमा बस्न, खानाको लागि सहयोग गर्नेहरु हुनुहुन्छ। भाइहरुले पनि सहयोग गर्छाैं दिदी भनेका छन्।

नेपालको कला–संस्कृतिलाई विदेशमा प्रचारप्रसार गर्ने प्रयास गरिरहेकी छु। यसले नेपालको पर्यटनमा टेवा पुर्‍याउँछ। तपाईंहरुले किन नकरात्मक समाचार लेखिरहनुभएको छ? मलाई बुझ्नै गाह्रो परेको छ। यसमा त सबैले सपोर्ट गर्नुपर्छ। यो सबैले गौरव गर्नुपर्ने विषय हो।

विदेशमा यत्रो ठूलो कार्यक्रम गर्ने कसैको आँटसम्म थिएन र छैन पनि। कमलको (कमल जीसी कार्यक्रम कोर्डिनेटर) पनि यति ठूलो कार्यक्रम गर्ने आँट थिएन। उसले गर्ने सोच समेत बनाएको थिएन।

मेरो सबै देशमा राम्रो ‘रिलेशन’ छ। प्रत्येक देशमा मलाई कति जनाले दिदी बनाएका छन्। कति जनाले बहिनी बनाएका छन्। कतिले त छोरी नै बनाएका छन्। त्यसैले मैले हिम्मत गरेकी हुँ।

अब जापानमा पनि यस्तै कार्यक्रम गर्दैछौँ। त्यसपछि हाम्रो कार्यक्रम बेल्जियम र भारतमा पनि हुन्छ। अमेरिकामा पनि हामीहरु कार्यक्रम गर्छौ। सबैतिर गर्ने तयारी छ। यस्ता किसिमका कार्यक्रम गर्ने कमलको त सोेच पनि थिएन। यो भिजन मैले ल्याएकी हुँ।

यी कार्यक्रमले नेपालकै हित हुने हो। मैले पैसा कमाउन कार्यक्रम गर्न लागेको होइन, पैसा कमाउने मेरो उद्धेश्य पनि छैन। कार्यक्रम गर्दा कमाएको पैसा त्यहि खर्च हुन्छ।

मैले नेपालको पर्यटनलाई बढाउनुपर्छ भनेर लागेकी हुँ। टुरिजम प्रमोट गर्न म निरन्तर लागिरहनेछु।

पर्यटन बोर्डबाट पनि स्वीकृति लिएकी छु। कस्ले भन्छ लिएको छैन ? स्वीकृति लिएर नै कार्यक्रम गर्न लागेकी हुँ। हुनत पर्यटन बोर्डमा पनि त्यस्तै मान्छे छन्।

हेर्नोस् त सलमान खानको भाइ नेपाल आउँदा उसलाई विमानस्थलमा स्वागत गर्न मन्त्री जानुपर्‍यो। त्यो उहाँहरुका लागि राम्रो कुरा हो। तर, यता मैले गर्न लागेको कार्यक्रम मन परेन।

सलमान खानको भाइ आउँदा मन्त्रीले स्वागत गर्दा तपाइँहरु कहाँ हुनुहुन्थ्यो ? यो कुरा पनि लेख्नुपथ्र्यो नी! हाम्रो नेपालको प्रधानमन्त्री जाँदा भारतको विमानस्थलमा को आउँछ स्वागत गर्नलाई ? यसमा पनि तपाईंहरुले ध्यान दिनपर्‍यो ?

यूएईमा अहिलेसम्म यस्तो कार्यक्रम कसैले गरेको थिएन। तर, पुनम यादवले गर्दैछ। यसमा त सबैले गौरव गर्नुपर्‍यो नी ! योभन्दा ठुल्ठूला कार्यक्रम अझै हुन्छन्, म गरेर देखाँउछु पनि।

कार्यक्रम गर्दा कालो धन भनेर ज–जसले हल्ला गरिरहेका छन्। त्यो अफवाह हो। तपाईंलाई यो सूचना कसले दियो बरु त्यो बताइदिनुहोस्। मेरो पहिलो कार्यक्रम हो, सपोर्ट पो गर्नुपर्छ। विरोध मात्रै गरेर त भएन नी !

जुनदिन मुम्बईबाट कलाकार आउँदा पर्यटनमन्त्री विमानस्थल पुग्नुभयो, त्यो दिनदेखि यस्ता कार्यक्रम गर्ने सोच बनाएकी हुँ। तर, हाम्रो देशका कलाकारकाे कहिकतै इज्जत हुँदैन। नेपाली कलाकारलाई मान सम्मान पनि हुनुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्छ भनेर कार्यक्रम गर्ने सोच बनाएकी हुँ।

हामीहरुले आयोजना गर्ने कार्यक्रमले नेपालको कला–संस्कृति विदेशमा प्रचारप्रचार हुन्छ। नेपालमा पर्यटन भित्र्याउन सहयोग पुग्छ। नेपालको पर्यटन प्रवर्द्धन गर्ने जिम्मा सरकारको मात्रै होइन, हामी सबैको हो। त्यसैले पुनम यादवले यो कार्यक्रम गर्न लागिरहेको छ। नेपाल एउटा टापु जस्तै छ। स्वीट्रल्याण्ड भन्दा कम छैन हाम्रो देश। नेपाललाई स्वीट्रल्याण्ड बनाउनु पर्‍यो क्या… पर्यटन प्रवर्द्धन गरेर।