चीनको चेतावनीकाबीच ताइवानमा के गरिरहेकी छन् अमेरिकी सभामुख पेलोसी?

चीनको चेतावनीकाबीच ताइवानमा के गरिरहेकी छन् अमेरिकी सभामुख पेलोसी?

काठमाडौं। चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत बनर्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।

चिनियाँ उप–विदेशमत्री से फेङले पलोसी भ्रमणको प्रकृति ‘खराब’ भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए।

मंगलबार अबेर ताइवान पुगेकी पलोसी बुधबार त्यहाँको संसदमा पुगेकी छन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गरेकी छन्।

अमेरिकी संसदको तल्लो सदनकी सभामुख पलोसी मंगलबार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर,उनको भ्रमण दशकौंमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन्। उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।

चीनले उनको भ्रमणविरूद्ध बारम्बार चेतावनी दिँदै आएको छ।

उसले यस भ्रमणका लागि अमेरिकाले ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आइरहेको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।

चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले यस भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

उनले भनिन्,‘चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।’

मंगलबार चीनले ताइवान र मुख्या चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको थियो।

उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन्। चिनियाँ सेनाका पूर्वी सैन्य कमान्डले अनलाइनमा एउटा भिडियो पोस्ट गर्दै आफूहरू ‘कुनै पनि परिस्थितिका लागि तयार रहेको’ जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट बचाउन कटिबद्ध रहेको जनाएको छ।

अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन।

तर, उसले ताइवानसँग ‘मजबुत अनौपचारिक’ सम्बन्ध रहेको बताउँछ।

चीनको धम्कीमाथि अमेरिकाले जवाफ दिएको छ। ताइवानको सन्दर्भमा अमेरिकाको धारणामा कुनै परिवर्तन नआएको व्हाइट हाउसले बताएको छ।

अमेरिकाका नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जौन किर्बीले भनेका छन्,‘‘एक चीन नीति’ सम्बन्धी अमेरिकाको धारणामा कुनै परिवर्तन आएको छैन। हामीले पहिले पनि भनेका छौं कि ताइवानको यथास्थितिमा कुनैखाले एकल परिवर्तनको समर्थनमा हामी छैनौं। ताइवानको स्वतन्त्रको हामी समर्थन गर्दैनौं।’

यता सभामुख पेलोसीले अमेरिकाले ‘ताइवानलाई त्याग्ने छैन’ भनेर स्पष्ट रूपमा प्रष्ट पार्न आफू भ्रमणमा आएको राष्ट्रपति इङ–वेनसँगको भेटमा भनेकी छन्।

ताइवानसँग पहिलेभन्दा अहिले बढी अमेरिकाको ऐक्यबद्धता महत्वपूर्ण रहेको उनको भनाइ छ।

ताइवानको लोकतन्त्रकको प्रशंसा गर्दै उनले भनिन्,‘ताइवानमा लोकतन्त्र फस्टाउँदै गइरहेको छ। यसले विश्वलाई प्रमाणित गरेको छ कि आशा, साहस र दृढ संकल्पले चुनौतीका बाबजुद पनि शान्तिपूर्ण र समृद्ध भविष्य निर्माण गर्न सकिन्छ।’