अनि फेरि म कुवेत फर्किएँ…

अनि फेरि म कुवेत फर्किएँ…

म करिव ९ वर्षअघि पनि वैदेशिक रोजगारीको लागि कुवेत आएको थिएँ। लामो समयकाे कुवेत बसाइँलाई बिट मारेर गत २८ अक्टोबरमा आफ्नै देश फर्किएँ।

म नेपालमा केही गर्छु भन्ने उद्देश्यले फर्किएको थिएँ। बिडम्बना आफ्नै माटोमा केही गर्छु भन्ने सपना बोकेर स्वेदश फर्किएको मेरो बसाइँ केवल केही समयको लागि मात्र भयो।

म फेरि उही ठाउँमा फर्किन वाध्य भएँ।

वैदेशिक रोजगारीकै सिलसिलामा लाखौं युवा विश्वका धेरै देशमा पुगेका छन्। वैदेशिक रोजगारी कुनै पनि युवाको रहर होइन, वाध्यता हो।

यस्तै वाध्यता आजभन्दा ९ वर्ष पहिला मलाई पनि आइलागेको थियो। धेरै सपना सङ्गालेर म विदेश उडेको थिएँ। सम्रगमा भन्नुपर्दा मेरो कुवेत बसाइँ राम्रै रह्यो। यद्यपि कहिलेकाहिँ साना–तिना समस्या भने नआएका होइनन्। समस्यासँग जुध्दाजुध्दै सबै कुरा राम्रो भइरहेको थियो।

९ वर्षको अवधिमा मैले यहाँका विभिन्न कम्पनीहरूमा काम गरें। कमाई पनि राम्रै गरें। सबै कुरा राम्रै ढंगले चलिरहेको थियो। मेरो आर्थिक अवस्था सुध्रिदैं थियो।

आफ्नो र घरखर्चहरू जोगाएर मैले नेपालको बैंकमा पैसा बचत गरिरहेको थिएँ। यहाँ राम्रो काम र कमाई हुँदा–हुँदै पनि खोई किन हो मेरो मनले यहाँ अरु बस्न ठिक छैन भनिरहेको थियो।

स्वदेश फर्किनुपर्छ र आफ्नै देशमा केही गरे अघि बढ्नुपर्छ भन्ने मेरो मनमा सोच पलायो।

अन्तत: स्वदेश फर्किने निचोडमा पुगें। निर्णय लिएको झण्डै ५ महिनापछि म नेपाल फर्किएँ।

देशमै केही गर्छु भन्ने ठूलो सपना बोकेर स्वदेश फर्किएको थिएँ।

नेपाल फर्किएपछि केही समय राम्रैसँग बित्यो।

सायद ८-९ महिनापछि मेरा सपना विपनामा परिणत हुँदै थिए। २०७८ पुस महिनाको ४ गते मैले एउटा रेस्टुरेन्ट खोलें।

देशको राजधानी अझ भन्नुपर्दा लाखौं सपनाको सहर काठमाडौंको गंगबुमा ‘रेडचिल्ली क्याफे’ मैले किनें। विगत ५ वर्षदेखि यो क्याफेले राम्रै व्यापार गरिरहेको थियो।

मैले खरिद गरिसकेपछि पनि रेष्टुरेण्टमा राम्रै व्यापार भइरहेको थियो।

मैले रेस्टुरेन्ट किनेको १५ दिन नपुग्दै नेपालमा कोरोनाको लहर सुरु भयो। फेरि लकडाउनको सुरुवात हुन थाल्यो। निश्चित थियो अगाडिको समय अझ जटिल थियो।

‘स्मार्ट लकडाउन’ सुरू भयो। जोर बिजोर लागु भयो। योसँगै देशभरिबाट काठमाडौं आउने मानिसको संख्यामा कमी हुँदै थियो। देशभरबाट मान्छेहरू आउन नपाएपछि राजधानी सुनसान हुँदै थियो। काठमाडौं सुनसान हुनु भनेको यहाँको व्यापार चौपट हुनु हो। मेरो समय यही नियतिभित्र छिर्दै थियो।

अब के गर्ने ? कसो गर्ने ? आफूले के गर्ने ? रेस्टुरेन्टमा काम गरिरहेका स्टाफहरूलाई के गर्ने? घरभाडा नै लाखभन्दा माथि थियो।

तर,पनि केही आशाहरू ज्यूँदै थिए। सात महिना त रेस्टुरेन्ट चलाइसकेको थिएँ। बजारमा महंगी बढिरहेको थियो। चारैतिर पैसाको संकट थियो।

रेस्टुरेन्ट किन्दा आफन्तसँग २० लाख ऋण लिएको थिएँ, ब्याजमा।

सरकारले ऋण दिन्छ भन्ने त सुनेको थिएँ। तर न राजनीतिक दलसँग नजिक थिएँ न कुनै नेताहरूसँग पहुँच र संगत थियो। बैंकमा जाँदा ऋण पाइँदैन भनेर फर्काइयो।

कसै-कसैले भन्दै थिए कति ऋण चाहिन्छ? हामी झिकिदिन्छौं भनेर तर उनीहरूको पार्टीको कार्यकर्ता बन्नुपर्थ्यो। वा भनौं त्यसवाफत उनीहरूलाई ‘सहयोग’ गर्नुपर्थ्यो। सिधा भाषामा भन्दा त्यो कमिसन थियो।

मेरो मनले त्यतातिर लाग्न मानेन।

हरेक कुरामा कमिसन थियो। हरेक काममा बिचौलिया थिए। त्यो पहिला पनि भोगेको थिएँ। यसपालि पनि भोग्दै थिएँ।

ऋणले च्यापिरहेको थियो। पैसा फिर्ता माग्नेहरूले अनेकन टर्चर गर्दै थिए। फेरि बैंकबाट ऋण लिनुको विकल्प थिएन। तर त्यसका लागि बिचौलियाहरूले बाटो छेकिरहेका थिए।

अब विकल्प भनेको फेरि कुवेत फर्किनु नै थियो। अर्को कुनै विकल्प मसँग थिएन।

तर त्यसका लागि मैले रेस्टुरेन्ट बेच्नुपर्ने थियो। फेरि फर्किनका लागि २० दिनमात्रै बाँकी थियो। तर, रेस्टुरेन्ट बिक्री भइरहेको थिएन। हेर्न आउनेहरू ‘महंगो भयो’ भनेर फर्किरहेका थिए। आफ्नो भने ठूलै लगानी डुबिरहेको थियो।

रेस्टुरेन्ट बिक्री भइरहेको थिएन। मसँग विकल्पहरू सकिँदै थिए। फर्किनु त थियो नै। तर, रेस्टुरेन्टमा लगानी आधा करोडभन्दा धेरै लगानी भइसकेको थियो। त्यसलाई त्यत्तिकै छोडेर जान पनि सक्दिनथें। तर, यहाँ बसिरहँदा पनि ऋणको भारीले झन् थिचिरहेको थियो।

आफ्नै देशमा केही गर्छु भन्ने मेरो सोच बाध्यताका मलामी बन्दै थिए।

एकजना मेरो एकदमै नजिकको ‘खास’ मित्र थिए। मैले उनैलाई त्यो रेस्टुरेन्टको जिम्मा लगाएँ। बिक्री नुहुञ्जेल उनैले त्यसको रेखदेख गर्ने भए।

म फेरि कुवेत फर्किएँ, आफ्नै नियति लिएर।

कुवेत पुगेको केही समयपछि साथीले रेस्टुरेन्ट बिक्री हुने भयो भनेर ‘खुसखबर’ सुनायो।

के कतिमा कारोबार हुने भयो? मैले सोधें।

साथीले भन्यो : बल्ल बल्ल ३१ लाखमा कुरो मिल्यो। मैले त ४५ भनेको थिएँ तर उसले मानेन र ३१मै फाइनल भयो।

नहुनुभन्दा ठीकै छ। मैले चित्त बुझाएँ।

तर, कुरो अर्कै थियो। पछि पो थाहा भयो। रेस्टुरेन्ट किन्ने व्यक्तिसँग मेरो ती ‘खास’ मित्रले ४२ लाख नै लिएछन्। र, बाँकी ११ लाख त आफैले राखेछन्। बिक्री त ४२ मै भएको रहेछ।

मेरा अर्का साथीले भनेर पो सबै कुरा थाहा पाएँ। पछि ती मेरा खास मित्रलाई सम्पर्क गर्दा उनले सबै कुरा खुलाएर गर्नै चाहेनन्। बरू उनले बल्लबल्ल मलाई ४ लाख रूपैयाँ थप दिए र बाँकी ७ लाख रूपैयाँ कुनै पनि हालतमा दिन नसक्ने बताएर फोन सम्पर्क बिहीन भए।

गुमाएको त्यो पैसाप्रति मलाई कुनै दु:ख छैन। बरू एकदमै आत्मीय बनेर नजिकिने ती साथीप्रति दयाभाव छ। र, त्यो मेरो नियति नै थियो। भोग्नै पर्थ्यो।

सबैभन्दा बलबान त यही समय नै हो। समयले नै ‘मान्छे’ चिनाउँछ। आफैलाई चिनाउँछ।

मेरा ती खास मित्रलाई ‘शुभकामना’ भनें र म आफ्नै कर्ममा लागें।