साउदी अरब : १ वर्षमा २०६ नेपालीको मृत्यु, प्रमुख कारण हृदयघात

साउदी अरब : १ वर्षमा २०६ नेपालीको मृत्यु, प्रमुख कारण हृदयघात FILE PHOTO

रियाद। साउदी अरबमा एक वर्षको अवधिमा २०६ नेपालीको मृत्यु भएको छ।

रियादस्थित नेपाली दूतावासका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रोजगारीको लागि साउदी आएका २०६ नेपालीले मृत्युवरण गरेका हुन्।

तीमध्ये १८० जनाको शव नेपाल पठाइएको छ भने १८ वटा शवको साउदीमै दाहसंस्कार गरिएको छ। यस्तै ८ वटा शव भने नेपाल पठाउन बाँकी छ।

हृदयघात प्रमुखकारण

मृत्युवरण गरेका २०६ नेपालीमध्ये ११२ जनाको मृत्युको कारण हृदयघात बताइएको छ। प्राकृति र हृदयघात गरेर ११२ नेपालीको ज्यान गएको दूतावासले जनाएको छ।

यसैगरी यो अवधिमा ३४ नेपालीले आत्महत्या गरेका छन्। सडक दुर्घटनामा परी ३१ नेपालीको मृत्यु भएको छ। यसैगरी कोभिड संक्रमणबाट १४ नेपालीको मृत्यु भएको छ। यस्तै १ नेपालीको हत्या भएको छ।

यो अवधिमा कम्पनीहरुसँग पहल गरेर ५० लाख ९० हजार ९१८ साउदी रियाल मृतकका परिवारलाई पठाइएको दूतावासको भनाइ छ। कम्पनीबाट पाउनु पर्ने तलब, बोनस र सडक दुर्घटनामा परी मृत्यु भएकाले पाउनुपर्ने ब्लडमनी प्राप्त गरेर उक्त रकम परिवारका नाममा पठाइएको हो।

ट्राफिक दुर्घटनामा ज्यान गुमाएका ३२५ नेपाली श्रमिकलाई ‘ब्लडमनी’ दिलाउन पहल गरेको दूतावासले जनाएको छ। तीमध्ये गत वर्ष ३५ वटा मुद्दा अदालतमा दायर गरिएको छ।

‘ब्लडमनी’का १२६ वटा मुद्दामा अदालतले २८ वटा मुद्दामा फैसला सुनाइसकेको छ। त्यसमध्ये १८ मुद्दामा ‘ब्लडमनी’ प्राप्त गरेर मृतकका परिवारलाई पठाइएको हो।

झण्डै २ हजार नेपालीको उद्धार

एक वर्षको अवधिमा दूतावासले झण्डै २ हजार नेपालीलाई उद्धार गरेको छ। साउदीको घरफिर्ती केन्द्रमा रहेका १ हजार ९३९ नेपालीलाई दूतावासले समन्वय गरेर नेपाल पठाएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको सहकार्यमा दम्माम र रियादमा सेल्टर सञ्चालन गरेर समस्यामा परेका नेपालीलाई खान र बस्नको व्यवस्था गरिएको दूतावासले जनाएको छ।

यसैगरी बिरामी नेपालीको अस्पताललाई अनुरोध गरेर उपचार भइरहेको बताइएको छ।

साउदी र नेपालबीच द्विपक्षीय सहयोग सम्झौता

यो अवधिमा साउदीका अरबका विदेशमन्त्रीले नेपालको औपचारिक भम्रण समेत गरेका थिए। दूतावासको पहलमा विदेशमन्त्रीको नेपाल भम्रणका सम्भव भएको बताइएको छ।

भम्रणका क्रममा नेपाल र साउदी अरबबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।

यस्तै दूतावासले यो अवधिमा साउदीका विभिन्न मन्त्रालय, श्रम कार्यालय र अध्यागमन कार्यालयसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट गरेको जनाएको छ।

आफ्नै भवन बनाउन जग्गा खरिद

दूतावासले रियादमा आफ्नै भवन निर्माण गर्न जग्गा खरिद गरेको थियो।

गत वर्ष जग्गा खरिद लागि सम्झौता भइसकेको दूतावासले बताएको छ।

झण्डै ११ हजार मागपत्र प्रमाणित

दूतावास गत वर्ष झण्डै ११ हजार मात्रगपत्र प्रमाणित गरेको छ। १२ हजार २१९ मागपत्रको प्रोसेसिङ गरेकोमा १० हजार ८२५ मागपत्र प्रमाणिकरण भएको दूतावासले जनाएको छ।

दूतावासमा ९५ हजारभन्दा बढीले गरे फोन

गत वर्ष रियादस्थित नेपाली दूतावासमा ९५ हजारभन्दा बढी पटक फोन आएको छ। ९५ हजारभन्दा बढी फोन कल प्राप्त भएको दूतावासले जनाएको छ।

यस्तै ह्वाट्सएपबाट ३५ हजारभन्दा बढी म्यासेजहरु दूतावासले प्राप्त गरेको छ।

एक वर्षको अवधिमा दूतावासले आफ्नो आधिकारीक वेभसाइट र फेसबूकमा ११५ वटा विभिन्न सन्देशमुलक सूचना पोष्ट गरेको जनाएको छ।

यस्तै श्रमिक सचेतना, समस्या तथा गुनासो सम्बोधनका लागि फेसबुक लाईभमार्फत सेवा प्रदान गरिएको दूतावासले जनाएको छ।