वैदेशिक रोजगारी : श्रमिक ठगेर ‘विचौलिया’लाई पोस्दै म्यानपावर कम्पनी

वैदेशिक रोजगारी : श्रमिक ठगेर ‘विचौलिया’लाई पोस्दै म्यानपावर कम्पनी File Photo

काठमाडौं। वैदेशिक रोजगारीमा पठाउने कुनैपनि म्यानपावर कम्पनीले श्रमिक छनोट गर्दा राष्ट्रिय स्तरका दैनिक पत्रिकामार्फत विज्ञापन गर्नुपर्ने नियम छ।

वैदेशिक रोजगार ऐन–२०६४ अनुसार श्रमिक माग भएको देश, काम, तलब, सेवासुविधाको विवरण तथा छनोट प्रक्रियाको किसिम स्पष्टसँग उल्लेख गरेर विज्ञापन गर्नुपर्ने हुन्छ।

वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएसँगै ‘क’ वर्गको राष्ट्रिय पत्रिकाबाट विज्ञापन प्रकाशन गर्नुपर्ने सरकारी नियम छ।

तर, ठगी गर्ने उद्धेश्यले श्रमिक छनोट प्रक्रियामा म्यानपावर कम्पनीले विज्ञापन नै प्रकाशन नगर्ने तथ्य सार्वजानिक भएको छ।

नियामक निकाय वैदेशिक रोजगार विभागले गरेको अनुगमनमा धेरै म्यानपावर कम्पनीले विज्ञापन नै नगरी ‘अवैध’ रुपले श्रमिक भर्ना गरेको पाइएको हो।

वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक डम्बर सुनुवारका अनुसार एउटै कम्पनीले ५ पटकसम्म यसरी गैरकानूनी तरवरले श्रमिक छनोट गरेको देखिन्छ।

नियमअनुसार म्यानपावर कम्पनीले विज्ञापन प्रकाशनका लागि विभागबाट स्वीकृति लिनुर्पछ। तर, स्वीकृति लिएका १ सय ४८ म्यानपावरले विज्ञापन नै प्रकाशन नगरेको विभागले गरेको अनुगमनमा देखिएको छ।

श्रमिक छनोट प्रक्रियामा विज्ञापन नगरिएको भन्ने गुनासो आएपछि विभागले पहिलो पटक २ दिनसम्म अनुसन्धान गरेको थियो।

३ र ४ साउनमा विभागका अधिकारीले गरेको अनुगमनमा मात्रै १ सय ४८ म्यानपावर कम्पनीले गैरकानूनी ढंगले श्रमिक छनोट गरेको भेटिएको देखिन्छ।

नियम मिच्ने परे कारवाहीमा

विभागले नियम मिचेर कारोवार गरिरहेका यी १ सय ४८ वटै कम्पनीलाई कारवाही गरेको छ।

कारवाही स्वरुप प्रत्येक म्यानपावर कम्पनीले ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनमा ‘अवैध’ ढंगले श्रमिक छनोट गरिरहेकोे देखिएपछि विभागले म्यानपावर कम्पनीलाई तीनदिने स्पष्टीकरण सोधेको थियो। तर, म्यानवार कम्पनीले चित्तबुझदो जवाफ नदिएपछि विभागले जरिवाना गरेको हो।

‘केहीले स्पष्टीकरण दिए तर, चित्त बुझ्दो थिएन। केहीले त स्पष्टीकरण नै दिएनन्,’ प्रवक्ता सुनारको भनाइ छ।

श्रमिक ठगेर ‘विचौलिया’लाई पोस्दै म्यानपावर

यसरी विज्ञापन नै प्रकाशन नगरी श्रमिक छनोट गर्दा यसबाट ठूलो फाइदा विचौलियाले उठाउँछन्। यसरी श्रमिकबाट असुलेको रकमको हिस्सा विचौलियाले अप्रत्यक्ष रुपमा म्यानपावर कम्पनीलाई समेत पुर्याउँछन्।

विज्ञापन प्रकाशन नगरी श्रमिक छनोट गर्दा यसको लाभ स्थानीय एजेण्टदेखि अन्य विचौलीयालाई हुने गरेको विभागले जनाएको छ।

ठग्ने उद्धेश्यले नै विचौलियासँगको मिलेमतोमा म्यानपावर कम्पनीले स्वीकृति लिएर समेत विज्ञापन प्रकाशन गर्दैनन्। यसको प्रत्यक्ष मारमा बेरोजगार युवाहरु परेका छन्।

सरकारले २०७२ सालदेखि वैदेशिक रोजगारीमा दलालको अन्त्य गरेको हो। विभागमा दर्ता भई सञ्चालनमा आएका म्यानपावर कम्पनीमार्फत मात्रै वैदेशिक रोजगारीमा पठाउन पाउने व्यवस्था छ। यसैकारण विज्ञापनलाई अनिवार्य गरिएको थियो।

तर, म्यानपावर कम्पनीले विज्ञापन नगरेपछि सो कम्पनीले ल्याएको डिमाण्डको जानकारी एजेण्टसँग मात्रै हुन्छ । लक्षित वर्गले आवश्यक पर्ने सूचना पाउनको लागि एजेण्टकै भर पर्नुपर्ने वाध्यता हुन्छ । जसले एजेण्टलाई ठग्न सहज हुन्छ,

कारवाहीप्रति व्यवसायी संघको आपत्ति

यता म्यानपावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले भने विभागले गरेको कारवाहीप्रति आपत्ति जनाएका छन्।

उनीहरुले विज्ञापन प्रकाशन नगरेको बाहनामा विभागले एकतर्फी रुपमा कारवाही गरेको भन्दै आइतबार व्यवसायीहरुको भेला समेत आवहान गरेका छन्।



No ads found for this position