वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने श्रम मन्त्रालयको दावी, ठगिए उजुरी दिन आग्रह

काठमाडौं।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने जनाएको छ।
मन्त्रालयले वैदेशिक रोजगारका क्षेत्रमा भइरहेका गैरकानूनी तथा अमर्यादित क्रियाकलापमा ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता कार्यमा संलग्न भएमा कडा कारवाही गर्ने चेतावनी दिएको हो।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मुलतः शून्य लागत (जेरो कस्ट) को नीति अनुसरण गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। तर, मन्त्रालयमा रहेको कल सेन्टरमा नीतिको परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रकम लिइएको, अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको जस्ता उजुरी परेको मन्त्रालयको भनाइ छ।
यस्तै श्रमिकको स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानु पूर्व अनिवार्य रुपमा सहभागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखिकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको असान्दर्भिक औँठाछापहरु दर्ता गराएको उजुरी पनि कल सेन्टरमा दिनहुँ प्राप्त भएको मन्तालयले जनाएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढिरहेको र त्यसका लागि आवश्यक पर्ने श्रम स्वीकृतिको लिनेहरुको संख्या वृद्धि भएको छ।
वैदेशिक रोजगारका क्रममा हुने गैरकानुनी कार्यमा मन्त्रालय र विभागबाट सुक्ष्म अनुगमन र अनुसन्धान भइरहेको मन्तालायले दावी गरेको छ।
वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका, बढी रकम दिन बाध्य पारिएका र अलपत्र परेका पीडितलाई मन्त्रालयमा रहेको कल सेन्टर ११४ र १६६००१५०००५ मा अथवा वैदेशिक रोजगार विभागको ०१०४७९२६४८ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। यसका साथै मन्त्रालयको फेसबुक facebook.com/mo/calicenter र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लिखित वा मौखिक उजुरी दिन पनि मन्त्रालयले आग्रह गरेको छ।
ताजा अपडेट
