जापानका लागि राजदूत सुवेदीको असभ्य हर्कत, कूटनीतिक मर्यादाविपरित रात्रीभोज

जापानका लागि राजदूत सुवेदीको असभ्य हर्कत, कूटनीतिक मर्यादाविपरित रात्रीभोज

काठमाडौं। जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले आफ्नै लागि स्वागत समारोह र रात्रीभोज आयोजना गरेर जगत हसाएका छन्।

कांग्रेसी आशीर्वादमा पालोमिचेर ‘झ्याल’बाट राजदूत बनेका सुवेदीले आशीर्वाददाताहरूका लागि कूटनीतिक मर्यादाविपरित रात्रीभोज आयोजना गर्दै आएका छन्।

यो रात्रीभोज श्रृंखलाको दोस्रो अंक हो। शुक्रबार साँझको स्वागत समारोह र रात्रीभोज कार्यक्रम सुवेदी र श्रीमती पुनमले आयोजना गरेकाे भाेजमा सहभागी एक कलाकारले प्रवास खबरलाई जानकारी गराए।

कार्यक्रम थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा साँझ साढे ५ बजेदेखि भएको थियाे।

बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारी पाएका उनै सुवेदीले अशिष्ट व्यवहारको अनुपम नमूना देखाउँदै अघिल्लो महिना दरबारमार्गमा जाँड पार्टीको आयोजना गरेका थिए।

सरकारी हैसियतमा रहेका उनै सुवेदीले मुलुकको निशान छाप, पदीय हैसियत, अफिसको टेलिफोन र इमेल दुरुपयोग गरेर जाँड पार्टीको आयोजना गरेका हुन्। निम्तो कार्डमा परराष्ट्र मन्त्रालयको समग्र हैसियत राखिएको थियो।

उनी विदेश पोस्टिङ्गको छोटो अन्तरालमै जापानको लागि राजदूत नियुक्त हुनै लागेका थोरै भाग्यमानीमध्येमा परेका हुन्। त्यसैले साउन महिनामा पनि उनले आफैँले आफ्नो स्वागतमा भोजको आयोजना गरेको बताइन्छ।

अरु वरिष्ठ कर्मचारीलाई लत्याएर देउवा सरकारले कांग्रेसको कोटामा उनलाई सबैभन्दा बढी तलब पाइने जापानको निम्ति राजदूत बनाएको हो। मन्त्रालयका शिष्टाचार महापालले देशी–विदेशी कूटनीतिज्ञलाई शिष्टाचार सिकाउनुपर्छ।

गत २७ जेठ शुक्रबारको जाँड कार्यक्रममा नेपाली कांग्रेस निकट नेता–कार्यकर्ता, कतिपय कलाकार–साहित्यकारहरूलाई बोलाइएको थियो। एकाध विदेशी पनि त्यहाँ पुगेका थिए।

शिष्टाचार महापालको आवरणभित्र रचिएका पछिल्ला योजनालाई उनका हर्कतले उदाङ्गो पारिदिएको छ।