विदेशमा नेपाली १० गुणा कम तलबमा काम गर्न वाध्य छन् : कुल आचार्य
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएरनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा कार्यरत नेपालीमाथी श्रम शोषण भइरहेको बताएका छन्।
संघले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगार विशेष कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष आचार्यले विदेशमा नेपालीले
१० गुणा कम तलब खाएर शोषणमा परेको बताएका हुन् ।
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालको सामाजिक सुरक्षा कोषमा समेट्ने व्यवस्था छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।
संसारका जुनसुकै देशमा रहेका नेपालीलाई उद्धार गर्न तथा सहयोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘अब पनि वैदेशिक रोजगारीमा पठाउनुपर्छ भन्ने होइन, तर दक्षता दिन सके धेरै गुणा लाभ पाउन सकिन्छ,’ उनले भने।
नेपाली श्रमिकलाई दक्ष बनाएर पठाउन सके उनीहरुले विदेशी सरह पारिश्रमिक पाउने उनले बताए।
यसका लागि संघले सरकारलाई रचनात्मक सहयोग गर्ने उनले प्रतिबद्धता गरे।
नेपालीले नेपालीलाई सहयोग गर्नुपर्ने, सहयोग गर्न अनुकुल नमिले ठग्न नहुने उनको भनाइ छ।
उनले नेपालीले नेपालीलाई ठग्यो भन्ने सुन्न नपरोस् भन्दै ध्यानाकर्षण गराए।