विश्वका शक्तिशाली पासपोर्टको सूचीमा १०६औं नम्बरमा नेपाल

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा १०६औं नम्बरमा नेपाल

काठमाडौं।विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ।

विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो।सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ।नेपालपछि सूचीमा मात्र सात देश रहेका छन्।

हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ।जुन देशको पासपोर्टले सबैभन्दा बढी अनआराइभल भिसा पाउँछ सोही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिने गरेको छ।

यसैलाई आधार बनाएर हेन्ली एण्ड पार्टनर्सले हालै ‘पासपोर्ट इन्डेक्स २०२२’ सार्वजनिक गरेको हो।३८ देशले अनअराइभल भिसा दिने नेपाली पासपोर्टलाई सूचीमा १०६औ नम्बरमा राखिएको छ।

सूचीको पहिलो नम्बरमा जापान रहेको छ।जापानी पासपोर्ट वाहकलाई विश्वका १९३ देशले अनअराइभल भिसा दिने गरेका छन्।दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरिया रहेका छन्।दुवै देशका पासपोर्ट वाहकलाई विश्वका १९२ देशले अनअराइभल भिसा दिने गरेका छन्।

सूचीको तेस्रोमा नम्बरमा जर्मनी,स्पेन,फिनल्याण्ड,इटाली र लक्जेमवर्ग रहेका छन् भने पाँचौं स्थानमा अष्ट्रिया,डेनमार्क,नेदरल्याण्ड्स र स्वीडेन छन्।

विश्वको सबैभन्दा कम शक्तिशाली पासपोर्ट अफगानिस्तानको रहेको छ।अफगानिस्तानको पासपोर्ट वाहकलाई विश्वका मात्र २७ देशले अनअराइभल भिसा दिने गरेका छन्।

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालपछि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्।

दक्षिण एसियामा नेपाली पासपोर्टभन्दा माल्दिभ्स, भुटान, बंगलादेश, भारत र श्रीलंकाको पासपोर्ट बढि शक्तिशाली देखिएको छ।

हेन्ली एण्ड पार्टनर्सको सन् २०२१ को सूचमा नेपाल ११०औं नम्बरमा रहेको थियो र नेपालपछि सात देश रहेका थिए।