विदेशमा रहेका नेपालीका लागि सामाजिक सुरक्षा कोषबारे साक्षरता अभियान चलाइने

विदेशमा रहेका नेपालीका लागि सामाजिक सुरक्षा कोषबारे साक्षरता अभियान चलाइने

गैरआवावासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारलाई अझै व्यवस्थित र सुरक्षित गर्नुपर्ने बताएका छन्।

संघले बिहीबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप विशेष कार्यशाला कार्यक्रममा बोल्दै डा. केसीले विदेशमा कार्यरत युवाहरूको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने बताएका हुन्।

जीवनस्तर सुधार्नका लागि वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता रहेपनि फर्केर आएपछि पनि दुःख उस्तै रहने डा. केसीको भनाइ छ।

विदेशमा २४ सै घण्टा जोखिमपूर्ण काम गर्नुपर्ने वाध्यता रहेकोले उनीहरुको सुरक्षाको लागि राज्य संवेदनशील हुनुपर्ने उनले बताए।

विदेशमा कार्यरत श्रमिकको मानव अधिकार हनन भएको बताउँदै डा. केसीले एक तिहाइ अर्थतन्त्र धान्ने वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। पछिल्लो समयमा श्रम सम्झौता भएका, करार सम्झौता भएका व्यक्तिको परिवारले वैदेशिक रोजगार बोर्डबाट राहत पाउने भएपनि कोभिडको बेला त्यस्तो राहत नपाउने समस्या रहेको उनले स्मरण गरे।

विदेशमा कार्यरत श्रमिकको हकमा सरकारले छुट्टै नयाँ बिमाको व्यवस्था गरी कामदारलाई फाइदा पुग्ने बनाउनुपर्ने उनको माग छ। विदेशको जेलमा नियम कानुन नबुझ्दा, परिस्थिति नबुझ्दा र भाषा नबुझ्दा अनाहकमा दुःख पाइरहेको उनको भनाइ छ।

८ खर्ब रेमिट्यान्स पठाउने विदेशमा रहेका जोकोही नेपालीलाई समस्या परेकाबेला नेपाल ल्याउन सरकारले ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा कमर्चारी संचय कोषका पूर्व प्रमुख कृष्णप्रसाद आचार्यले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न ढिलाइ गर्न नहुने बताए। वैदेशिक रोजगारीमा रहेका ५६ लाखभन्दा नेपालीले ९ खर्ब भन्दा बढी रेमिट्यान्स देशमा पठाएको र त्यो रकम दैनिक उपभोग तथा ऋण तिर्न ७९ प्रतिशत बढी खर्च भइरहेको जानकारी दिए।

श्रमिकलाई सामाजिक सुरक्षाका स्किममा आबद्ध गराउन चुनौती रहेपनि सबैलाई समेट्नुपर्ने उनको भनाइ थियो। पुःन वैदेशिक रोजगारीमा जानु नपर्नेगरी स्किम ल्याउनुपर्ने उनले बताए।

त्यस्तै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रम स्वीकृति लिने बेलामै सामाजिक सुरक्षामा आबद्ध गर्न सकिने बताए।

विदेशमा जाने श्रमिकको हकमा सम्बन्धित देशका सामाजिक सुरक्षा कोषसँग मिलेर कार्यान्वयन गरिने बताए।

विदेशी रोजगारीबाट फर्केपछि आकर्षक प्रतिफल पाउने उनले बताए। सामाजिक सुरक्षा साक्षरता सञ्चालन गर्न गैरआवासीय नेपालीसँग समन्वय गरिने उनले बताए।