आफैले बनाएको शंखमुल पार्क पुगेर एनआरएनएका पदाधिकारी गरे सफाइ

आफैले बनाएको शंखमुल पार्क पुगेर एनआरएनएका पदाधिकारी गरे सफाइ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरुले ललितपुरस्थित शंखमुल पार्कमा सरसफाइ गरेका छन्।

संघका अध्यक्षद्धय कुल आचार्य र डा. बद्री केसीको नेतृत्वमा संघका पदाधिकारीले आइतबार विहान पार्क पुगेर सरसफाइ गरेका हुन्।

सरसफाई कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष कुल आचार्यले काठमाडौंको सरसफाइमा एनआरएनएले सहकार्य गर्ने प्रतिबद्धता जनाए।                                                 

उनले शंकमुल पार्कको व्यवस्थापनको जिम्मा स्थानीय महानगरपालिकालाई दिएपछि राम्रो संरक्षण भएको समेत बताए।

यस्तै संघका अर्का अध्यक्ष डा. बद्री केसीले महिनाको एक दिन स्वंयसेवा गर्ने परम्पराको सुरुआत गर्न आग्रह गरे। उनले बागमती सफाइ अभियान नेपालको लागि ऐतिहासिक कार्य भएको बताए।

यसैगरी नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलले नेपालीहरुमा सामाजिक काम गर्ने संस्कार रहेको बताउँदै पार्क बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद दिए। उनले शंखमुल पार्क एनआरएनएले निमार्ण गरेको उत्कृष्ट परियोजना भएको चर्चा गरे।

ललितपुर महानगरपालिका –९ वार्ड अध्यक्ष राजु महर्जनले एनआरएनए पार्कलाई व्यवस्थित बनाउन सहयोग गरेको भन्दै विदेशमा बस्ने नेपालीहरुलाई धन्यवाद दिए।उनले हरेक वर्ष बागमतीको नदी कटौतीले गर्दा पार्क व्यवस्थापनमा चुनौती रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, उपहासचिव विनय अधिकारी, युरोप संयोजक चिन्तामणि सापकोटालगायतको उपस्थिती थियो।

शंखमुल पार्क निर्माणमा एनआरएनएले ३ करोड २ लाख ५९ हजार १५५ खर्चेकाे थियाे।