परराष्ट्रमा आर्थिक अनियमितता बढ्यो

परराष्ट्रमा आर्थिक अनियमितता बढ्यो

काठमाडौं।परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ। महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा उक्त अनियमिता औंल्याएको छ।

महालेखाले गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणमा ४० वटा नियोगलाई समेटेको छ जसमा ३० दूतावास, ७ महाबाणिज्यदूतावास र ३ स्थायी नियोग छन्।

महालेखाको प्रतिवेदनअनुसार सो आर्थिक वर्ष परराष्ट्रले नियोगहरुलाई ४ अर्ब २५ करोड १ लाख रुपैयाँ निकासा गरेको थियो। निकासा गरेकोमध्ये ४ अर्ब २३ करोड ९६ लाख रुपैयाँ खर्च भएको विवरण परराष्ट्रले बुझाएको थियो। तर नियोगहरुले पेस गरेको वित्तीय विवरणमा ३ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ खर्च भएको उल्लेख छ।

‘नियोगमा रकम पठाएको आधारमा मन्त्रालयले खर्च प्रविष्टि गर्ने तर यथार्थमा सबै रकम नियोगमा खर्च भई नसक्ने कारण मन्त्रालयले नियोगहरुको वित्तीय विवरणमा उल्लेख भएभन्दा ४१ करोड ८ लाख बढी खर्च जनाएको छ,’ प्रतिवेदनमा महालेखाले भनेको छ।

नियोगहरुले खर्च गर्न नसकेको रकमलाई पनि परराष्ट्र भने खर्च भएको भनि देखाएको छ।

परराष्ट्रले ४० नियोगलाई आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिक निकासा दिँदा सोहीबमोजिम बाँकी रकम कट्टा गर्नुपर्नेमा ३९ करोड ८१ लाख मात्र कट्टी गरेको छ।