काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक पारित
काठमाडौं। नेपाल प्रहरी र प्रदेस प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो) संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले यो विधेयक पारित गरेको हो।
विधेयकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था संघ मातहत राख्ने र यसको जिम्मेवारी नेपाल प्रहरीमा रहने व्यवस्था गरेको छ।
यसअघि काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी प्रदेस सरकार मातहत राख्नुपर्ने माग उठेको थियो।
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था संघ मातहत रहने भए पनि नेपाल प्रहरीले प्रदेस प्रहरीको समन्वयमा काम गर्नुपर्ने विधेयकमा व्यवस्था गरिएको छ।
सरकारले ल्याएको विधेयकमा सुरूमा काठमाडौं, ललिपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो। यसमा प्रतिनिधिसभाले ‘कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेस प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ।
पारित भएको विधेयक अब राष्ट्रियसभामा जान्छ। राष्ट्रियसभाले पनि पारित गरेर पुनः प्रतिनिधिसमा पठाउँछ।
राष्ट्रियसभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्नेछ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएपछि ऐनको रूपमा कार्यान्वयन हुन्छ।