श्रीलंकाका राष्ट्रपतिद्धारा राजीनामा घोषणा

श्रीलंकाका राष्ट्रपतिद्धारा राजीनामा घोषणा

काठमाडौं। श्रीलंकाका राष्ट्रपति गोटाबय राजपक्षेले राजीनामा दिने भएका छन्। उनले आफू राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएका हुन्।

श्रीलंकाको प्रधानमन्त्री कार्यालयले राष्ट्रपति राजपक्षले राजीनामा दिन लागेको जानकारी गराएको पुष्टि गरेको छ।

प्रदर्शनकारीले शनिबार प्रधानमन्त्री तथा राष्ट्रपति दुवै जनाको निवास आफ्नो नियन्त्रणमा लिएका थिए।

प्रधानमन्त्री र राष्ट्रपतिको राजीनमा माग गर्दै प्रदर्शनकारीले आफू ती स्थानबाट त्यत्तिकै बाहिर ननिस्कने अडानमा छन्।

शनिबार संसदका सभामुखले राष्ट्रपति राजपक्षेले बुधबारका दिन राजीनामा दिने बताएका थिए।

तर, प्रदर्शनकारीहरूले सभामुखकको त्यो भनाइप्रति आशंका व्यक्त गरेका छन्।

प्रधानमन्त्री रनिल विक्रमसंघेको कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर राजपक्षेबाट उनले बुधबार पदत्याग गर्ने आधिकारिक सूचना प्राप्त भएको जनाएको छ।

तर राजपक्षे आफैंले यसबारे केही बोलिसकेका छैनन्।

श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा स्वीकृत हुनसक्छ। तर, अहिलेसम्म उनले राजीनामा बुझाइसकेका छैनन्।

कहाँ छन् राजपक्षे?

अहिले राष्ट्रपति राजपक्षे कहाँ छन् यसबारे खुलाइएको छैन।

तर सैन्य स्रोतअनुसार उनी अहिले जलसेनाको जहाजमा श्रीलंकाली सीमाभित्र समुद्रमा छन्।

उनका दाजु तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षे पनि एउटा सैन्य शिविरमा बसिरहेको स्रोतहरूले बताएका छन्।

शनिबार हजारौं प्रदर्शनकारी राजधानी कोलम्बोमा भेला भएर राष्ट्रपतिको राजीनामा माग गरेका थिए।

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा केही महिनादेखि सरकारविरूद्ध प्रदर्शन भइरहेको छ।

राजपक्षेले श्रीलंकाको अर्थतन्त्र भताभुङ्ग पारेको आरोप लागेको छ। विदेशी मुद्रा सिञ्चितिको अभावमा त्यहाँ महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव सिर्जना भएको छ।

राष्ट्रपति र प्रधानमन्त्री निवासभित्र छिरेका प्रदर्शनकारीहरूको एउटै माग छ– दुवै नेताको राजीनामा।