एनआरएनए अमेरिका विवाद थप गिजोलियाे, सीपी पौडेलको नेतृत्वमा छुट्टै कार्यसमिति

एनआरएनए अमेरिका विवाद थप गिजोलियाे, सीपी पौडेलको नेतृत्वमा छुट्टै कार्यसमिति

टेक्सास। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको कार्यसमितिसँग असन्तुष्ट जनाउँदै आएको समूहले छुट्टै कार्यसमिति गठन गरेर चुनौती दिएको छ।

३ र ४ जुलाइमा नर्थ क्यारोलिनामा आयोजित संघको भेला बहिष्कार गर्दै उक्त समूहले सोही दिन टेक्सासको डाल्लासमा भेला गरेर छुट्टै कार्यसमिति बनाएको हो।

सो भेलाले सीपी पौडेललको नेतृत्वको जिम्मेवारी दिएको छ। यसैगरी भेलाले एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका आइसीसीका कोषाध्यक्ष सुनिल साहलाई संघको प्रमूख संरक्षकमा चयन गरेको छ।

यसैगरी संघको रिक्त एक संरक्षकमा कृष्ण लामिछानेलाई चयन गरिएको छ। संघको राष्ट्रिय समितिको संरक्षकहरुमा यस पहिले नै डा.अर्जुन बन्जाडे, तिलक केसी र शिव राईलाई चयन गरिएको छ।

लामिछाने,बन्जाडे र केसी एनसीसी अमेरिकाको गत वर्ष सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए भने राई पूर्व अध्यक्ष हुन्।

अध्यक्ष चयन गरेपछि बसेको पहिलो बैठकले आइसीसीले तोकेको मापदण्ड अनुसार एनआरएन एनसीसी अमेरिकाको सदस्यता वितरण गर्ने र कार्यसमितिको रिक्त पदाधिकारी र सदस्य पदपूर्ति गर्ने निर्णय गरेको बताइएको छ। पदपूर्तिका लागि अध्यक्ष पौडेललाई जिम्मेवारी दिइएको छ।

भेलाको उद्घाटन पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले गरेका थिए।

भेलामा आइसीसीका सचिव शंकर खड्का, कोषाध्यक्ष सुनिल साह, सह कोषाध्यक्ष यमुना भट्टराई, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रीय उप–संयोजक पुरुषोत्तम बोहोरा र पशुपति पाण्डे सहभागी थिए।

आइसीसीका सहभागी पदाधिकारीहरुले अब अमेरिकामा अर्को एनसीसी नरहेको बताएका थिए।

एनआरएनए अमेरिकाभित्रको विवाद आन्तरिक सहमतिमा टुंगाउने समझदारी भएपनि सहमति कार्यान्वयन हुन नसक्दा विवाद झनै बढेको हाे।

सोही दिन नर्थ क्यारोलिनामा निर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदीको समूहले भेला आयोजना गरेको थियो। उक्त भेलाको कांग्रेसका नेता विश्व प्रकाश शर्माले उद्घाटन गरेका थिए।

यसअघि निर्वाचित अध्यक्ष सुवेदी र तदर्थ समितिका अध्यक्ष कृष्ण लामिछानेबीच आन्तरिक विवाद टुंग्याउने समझदारी भएको थियो।

तर, सुवेदीले सम्झदारीविपरित काम गरेको भन्दै लामिछानेले सहमति भंग भएको घोषणा गर्दै भेला बहिष्कार गरेका थिए।

सुवेदी नेतृत्वको निर्वाचित कार्यसमितिलाई सदस्यता शुल्क केन्द्रमा नपठाएको, आइसीसीको निर्देशन विपरित गतिविधि गरेको आरोपमा आइसीसीको तर्फबाट अमेरिकाज क्षेत्रीय समितिका संयोजक प्रकाश सापकोटा, उप–संयोजक अभिमन्यु बस्नेत, पशुपति पाण्डे र पुरुषोत्तम बोहराले २४ अप्रिलमा विघटन गरेका थिए।

सुवेदीको कार्यसमितिलाई विघटन गरेर लामिछानेको नेतृत्वमा तदर्थ समिति बनाइएको थियो। त्यसयता अमेरिका एनसीसीको विवाद चरम उत्कर्षमा पुगेको थियो।

पछि केन्द्रीय महासचिव गौरीराज जोशीको पहलमा दुवै पक्षले नर्थ क्यारोलिनामा एकताको अधिवेशन गर्ने सम्झादारी गरेका थिए। तर, त्यो सहमति कार्यान्वयन हुन सकेन्।

दुवै पक्षले छुट्टा–छुट्टै भेला आयोजना गरेपछि औपचारिक रुपमा एनआरएनए अमेरिका फुटेको हो।

पौडेल समूहले विधान बमोजिम आफूहरु वैधानिक भएको दावी गर्दै आएकाे छ। विधान अनुसार सुवेदी नेतृत्वको समिति विघटन गरिएकोले आफूहरु नै वैधानिक भएको उनीहरुको तर्क छ।

यता संघका केन्द्रीय कार्यकारी अध्यक्ष कुल आचार्य भने सुवेदीको नेतृत्वमा रहेको समितिले आयोजना गरेको भेलामा सहभागी थिए।