दुबईबाट ल्याइएको बच्चाले लगाउने कपडाको बटन नै सुनको

दुबईबाट ल्याइएको बच्चाले लगाउने कपडाको बटन नै सुनको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट अवैध रुपमा सुन ल्याउने व्यक्ति पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नाबालकको कपडाको बटनभित्र लुकाएर ल्याइएको सुनसहित दुबईबाट आएका सुमन दमाई नियन्त्रणमा लिएको हो।

सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं ओर्लिएका दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको हो। सुनको तौल करिव १२५ ग्राम रहेको छ।

फेला पारेको सुन स्टील बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको रहेको छ।

सुनसहित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दमाईले आफू भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याईदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन्।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने भन्सार कार्यालयले अनुमान गरेको छ। सुन तस्करीमा नियन्त्रमा रहेका यात्रु सुमनको संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले अपरिचित व्यक्तिको सामानभित्र लुकाईछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको छ वा छैन सुनिश्चित नभएसम्म नल्याउन अनुरोध गरेको छ।

सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ तरिका अपनाउने क्रम जारी रहेपछि भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेको जनाइएको छ।