श्रममन्त्रीले गरे स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ

श्रममन्त्रीले गरे स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका छन । सामाजिक सुरक्षा कोषले सोमबार मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री कुँवरले उक्त स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका हुन ।

यो प्रणाली सुरु भएपछि योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले आशा व्यक्त गरिएको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू यसमा पर्दछन् । योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गई प्राप्त गर्न सकिने कोषको भनाइ छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा बापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटना बापतको सुविधा लिँदा शत प्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुनेछ ।

कोषसँग १२६ अस्पतालहरूले एमओयू गरेका छन् । त्यसमध्ये अहिले २६ वटा अस्पतालहरुले सूचना प्रविधि प्रणाली मार्फत कोषसँग आबद्ध भई कोषका स्वास्थ्य सुविधा योजना प्रदान गरिरहेका छन् ।