चीनको दक्षिणी क्षेत्रको व्यापार प्रतिनिधिमा न्यौपाने

चीनको दक्षिणी क्षेत्रको व्यापार प्रतिनिधिमा न्यौपाने

काठमाडौं। चीनको दक्षिण प्रान्तहरुका लागि नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधिको जिम्मेवारी युवा व्यावसायी प्रदिप न्यौपानले पाएका छन्।

नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अध्यक्ष राजेन्द्र मल्लले शुक्रवार व्यवसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

लामो समयदेखि व्यवसायमा संलग्न न्यौपाने गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनका पूर्व अध्यक्ष समेत हुन्।

उनी हाल संघको एसिया प्यासिफक क्षेत्रीय सचिवको जिम्मेवारीमा छन्।

एनसीसीको व्यापार प्रतिनिधी नियुक्त भएसँगै न्यौपानेले व्यापार क्षेत्रमा आफ्नो अनुभव प्रयोग गरेर रचनात्मक कार्य गर्ने बताए।

एनसीसीमार्फत चीनमा रहेका नेपाली र चिनिया व्यावसायीलाई नेपालमा व्यापार गरिरहेकाहरुसँग सहकार्य गरी व्यापार विस्तार गर्न आफूले प्रयत्न गर्ने न्यौपाने बताउँछन्।

चीनमा आयोजना हुने व्यापारिक मेला तथा विभिन्न कार्यक्रममा आफूले एनसीसीको प्रतिनिधित्व गरी सहकार्य तथा व्यापार विस्तारमा पहल गर्ने उनको भनाइ छ।

दक्षिण चीनमा क्वान्तोङ, हाईनान, हेनान, हपेई र हुनान प्रान्त तथा क्वान्सी चुवाङ स्वायत्त क्षेत्र पर्दछन्। यी क्षेत्रहरु क्षेत्रीय तथा अन्र्तराष्ट्रिय व्यापारीक केन्द्रहरु नै हुन्।

नेपालीलगायत विश्वका विभिन्न मुलुकबाट आएका व्यापारीहरु यी क्षेत्रमा रहेर आयात-निर्यात गरिरहेका हुन्छन्। त्यसकारण पनि प्रान्तीय तथा केन्द्रीय सरकारले यस क्षेत्रको विकास, सुरक्षा र प्रवन्धमा विशेष महत्व दिएको हुन्छ।

युवा व्यावसायी न्यौपानेको कामरु ट्रेडिङ नेपालमै पनि अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक विक्रेता हो। जसको नेपालका विभिन्न सहरहरुमा शाखा छन्।

न्यौपानेको अग्रसरतामा केल्मी ब्राण्डले नेपालका खेलकुद क्षेत्रलाई आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ।

एनसीसीको व्यापार प्रतिनिधिको जिम्मेवारीले आफूलाई थप सक्रिय बनाएको न्यौपाने बताउँछन्।