थाई स्माइलको काठमाडौं-बैकक उडान सुरु

थाई स्माइलको काठमाडौं-बैकक उडान सुरु

काठमाडौं। थाइल्यान्डको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंबाट बैंकक दुईतर्फी उडान सुरु गरेको छ।

थाई स्माइलले यो रुटमा दैनिक उडान गर्ने जनाएको छ। यो रुटमा उसले १ सय ६२ सिट क्षमतायुक्त ‘एयरबस–३२०’ सिरिजको जहाज प्रयोग गर्ने छ। जसमा १ सय ५० इकोनोमी क्लास र १२ प्रिमियम इकोनोमी क्लास सिट छन्।

जहाजभित्रै खानाको सुविधा (अन–बोर्ड मिल सर्भिस) उपलब्ध गराएको थाई स्माइलले थाइल्यान्डको फुकेट र पटायालगायत अन्य सबै आन्तरिक विमानस्थलमा उडान गरिरहेको छ भने थाई एयरवेज इन्टरनेसनलले अस्ट्रेलिया, जापान, क्वालालम्पुर लगायत गन्तव्यमा सेवा दिइरहको छ। थाई स्माइल थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड ९थाई० को सहायक वायुसेवा कम्पनी हो।

थाई स्माइलको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) आरआर ग्रुप अफ कम्पनिजअन्तर्गतको सोसाइटी इन्टरनेसण्नल ट्राभल सर्भिसेस रहेको छ। यसले थाई स्माइलका लागि बिक्री, बजारीकरण र विमानस्थल सञ्चालन सेवा, ग्राहक र एजेन्सी सहयोग सेवा उपलब्ध गराउँछ।

‘काठमाडौँ–बैंकक सेवाको सुरु गर्न पाउँदा गौरवान्वित छौं। यसले बैंकक र एसियाका अन्य प्रमुख सहरबीच बढ्दै गइरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउने छ। हामीलाई विश्वास छ यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्यान्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्ने छ,’ थाई स्माइलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले भने, ‘यो रुट सुरुवातसँगै नेपाल बिस्तारै मध्य तथा दक्षिण एसिया र अन्य एसियाली मुलुकका लागि पर्यटकिय आकर्षणको केन्द्र हुनेछ।’

त्यसैगरी थाई स्माइलको जिएसए सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले थाई स्माइलको सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए।

‘सन् १९६८ देखि थाई एयरवेज इन्टरनेसनलले नेपालमा सेवा दिँदै आएको र सोही रुटमा पुनः सेवा सुचारु गर्दै नेपाल र थाइल्यान्डको सम्बन्ध अझ नजिक बनाउन पाएकोमा खुसी छौं,’ सिंहले भने, ‘यसका साथै यो उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्ने विश्वास छ।’