नेपालमात्रै होइन, सबै एसियाली देश महंगीकाे मारमा

नेपालमात्रै होइन, सबै एसियाली देश महंगीकाे मारमा सांकेतीक तस्वीर

कोरोना महामारीले बेस्सरी हिर्काएको विश्व अर्थतन्त्र फेरि रूस र युक्रेन युद्धका कारण अझ थिलथिलो भयो। त्यसको मुख्य असर विश्व तेल बजारमा देखियो। तेलको आपूर्तिमा आएको विश्वव्यापि अवरोध अनि खाद्यान्न भइरहेको अचाक्ली मूल्यवृद्धिलाई यतिबेला एसियाली देशहरूका लागि निकै गह्रुङ्गो चुनौती बनेको छ।

महंगीको तरंग यति उछालिएको छ कि त्यसलाई सामना गर्नका लागि यी देशहरूलाई निकै गाह्रो भइरहेको छ। जसका कारण पूरै एसियाली जनजीवन र अर्थतन्त्र लथालिंग हुने अवस्थामा छ।

विश्व अर्थतन्त्रको गति नियालिरहेका अर्थशास्त्री तथा विज्ञहरूले अमेरिकाको संघीय ब्याजदर खलबलिएको छ र त्यसले विश्वबजारमै संकटको अवस्था ल्याइरहेको छ।

एसिया प्यासिफिकका बजार अनुसन्धान तथा प्रमुख अर्थशास्त्री राजीव विश्वास भन्छन् ‘बढिरहेको महंगीका कारण सबै एसियाली देशको अर्थतन्त्र निकै दवादमा छ। यो वर्षको सुरूवातीदेखि नै विश्व बजारमा बढ्दै गइरहेको तेलको मूल्य, प्राकृतिक ग्यास अनि कोइलामा आकाशिएको मूल्यले कृषि उत्पादनमा समेत प्रभाव पारेका छन्। र, यी देशहरूका लागि यो निकै चुनौतीपूर्ण हो।’

उनका अनुसार अहिले पूरै विश्वभरि नै आपूर्ति चक्र बिथोलिएको छ। त्यसले पनि मूल्यवृद्धिलाई अझ माथि पुर्‌याउन मदत गरिरहेको छ। त्यसले उत्पादनका लागि कच्चा पदार्थको आपूर्तिमा निकै बाधा पुर्‌याइरहेको छ। र, एसिया क्षेत्रका धेरै केन्द्रीय बैंकहरूले यो वर्षको आधि सुरूवातमै महंगीलाई नियन्त्रण गर्नका लागि निकै कडा र प्रतिवन्धात्मक नीतिहरू ल्याउनुपर्ने दबाव छ।

अघिल्लो महिनामात्रै भारतमा महंगीदर ७ प्रतिशत भन्दा धेरै पुगिसकेको छ। त्यसले पूरै एसियाली बजारलाई थप दबावमा पारेको छ।

यसको प्रभाव नेपालजस्ता बजारहरूमा पनि परिरहेको छ। अघिल्लो महिना राष्ट्र बैंकले सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसा नेपाली बजारमा महंगीदर ७.८७ प्रतिशत छ। विश्वबैंकले तोकेको महंगीदरको सिमाभन्दा नेपालजस्ता देशका लागि यो धेरै नै हो।

नेपालजस्ता विकाशील देशहरूका लागि यो महंगीदर निकै खतरा पनि हो। जस्तो कि पाकिस्तान अनि श्रीलङ्काजस्ता देशहरूले अहिले व्यापक जनविद्रोहको सामना गर्नुपरिरहेको छ। श्रीलङ्काले त आफू टाट पल्टिएको घोषणा पनि गरिसकेको छ।

विश्व वित्तीय सेवा समूह नोमुराले हालैमात्र सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार बितेको ३० वर्षको इतिहासमा भारतीय खुद्रा बजारमा मूल्यवृद्धि निकै आकाशिएको छ। खाद्यान्नमा मात्रै त्यहाँको मूल्यवृद्धि ९ प्रतिशतले बढेको छ।

एकसाता अघि कोरियाली बैंकले यो वर्ष दक्षिण कोरियामा महंगी दर एकदमै उच्च हुने प्रक्षेपण गरेको थियो। यस्तो महंगीको मार उसले बितेको १४ वर्षमा पहिलोपटक झेलिरहेको छ।

कोरियाली आर्थिक सूचकहरूका अनुसार अहिले त्यहाँ उपभोक्ता मूल्यमा लगभग ५.४ प्रतिशतभन्दा धेरैले बढिरहेको छ। कृषि तथा पशुजन्य उत्पादनमा त मूल्यवृद्धि यति धेरै भइसकेको छ कि त्यसले पूरै बजार बिथोलिएको छ। बंगुरको मासुको मूल्य त्यहाँ २०.७ले बढेको छ। अरू आयातित ‘बीफ’ २७.९ प्रतिशतले बढेको छ।

थाइल्याण्डमा महंगी ५.९ प्रतिशतसम्म पुगेको छ। त्यहाँको केन्द्रीय बैंकका अनुसार पछिल्ला २४ वर्षमा महंगीको यो दर निकै उच्च हो। दुई साताअघि त्यहाँका वित्तमन्त्री जुरिन लक्सानविसिटोले आगामी १२ महिनाका लागि ४६ विभिन्न उपभोग्य वस्तुको मूल्य स्थिर गर्ने घोषणा गरेका थिए। जस्तो कि तयारी चाउचाउ, वनस्पती तेल, क्यानमा राखिएका खाद्यपदार्थहरूलगायत।

लाओसमा १८ वर्षपछि मूल्यवृद्धि १२.८ प्रतिशत पुगेको छ। लाओसको तथ्याङ्क विभागका अनुसार त्यहाँ पेट्रोलियमको मूल्य ९२.६प्रतिशतले बढेको छ। जसका कारण खाद्यान्न र दैनिक उपभोग्य अरू वस्तुको मूल्य झन उचालिएको छ।

अर्थशास्त्री विस्वासका अनुसार अहिले अमेरिका र युरोपेली राष्ट्रहरूको तुलनामा एशियाली राष्ट्रहरूको उपभोक्ता मूल्यमा वृद्धि हुनैपर्ने दबाव अलिकति सन्तोषजनक छ। यो किन पनि यस्तो भएको भने अहिले चीन र जापानमा महंगी दर २.४सम्म पनि पुगेको छ। यो भनेको एशियाली अर्थतन्त्रको लगभग ७० प्रतिशत हो।

गत जुन १५मा अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएर ०.७५ प्रतिशतसम्म पुग्यो। यही वर्षमा यो उसको तेस्रो वृद्धि थियो। १९९४ पछिको यो वृद्धि अहिलेसम्मकै उच्च हो।

र, विज्ञहरूले यो अझै बढ्नसक्ने संकेत गरेका छन्। दक्षिण तथा पूर्वी एशियाली राष्ट्रहरूको आर्थिक अनुसन्धान संस्थाका प्रमुख सल्लाहकार लिली याङ यीयाङकाअनुसार त्यो दर यो वर्षको अन्त्यसम्ममा ३.४ सम्म पुग्नेछ। आगामी वर्ष ३.८ र २०२४सम्म ३.४ प्रतिशतसम्म पुग्नेछ। र त्यसपछिका कैयौ वर्षहरूमा औसत २.५ प्रतिशतकै हाराहारीमा रहनेछ। अमेरिकी अर्थतन्त्रमा यो निकै ठूलो उथपलपुथल हो र त्यसले सारा विश्वबजारलाई निकै गम्भीर संकटमा पार्नसक्छ।

नेशनल युनिभर्सिटी अफ सिङ्गापुर बिजनेश स्कुलका एकजना निर्देशक लअरेन्स लोहका अनुसार महंगीको दबावलाई अमेरिकी केन्द्रीय बैंकको व्याजदरले कम गर्नुपर्ने हुन्छ। तर त्यो बढिरहेको छ। यसले हरेक व्यापारको लागत मूल्यलाई निकै बढाइरहेको छ।

‘किनकि अमेरिकाको व्याजदर भनेको पूरै विश्व बजारलाई नै प्रभाव पार्नसक्ने एउटा  मापदण्ड हो। यदि यो बढ्यो भने हरेक देशले त्यसलाई बढाउनैपर्ने दबाव हुन्छ’ उनी भन्छन् ‘त्यसलाई सन्तुलनमा राख्नका लागि धेरै लागत मूल्य चुकाउनुपर्ने हुन्छ।’

उनका अनुसार खासगरी दुई कुराहरूले मूल्यवृद्धिलाई डोर्‌याइरहेका हुन्छ। पहिलो त कच्चा पदार्थ र तयारी माल सामानहरूको मूल्य जो खासगरी रुस र युक्रेन युद्धका कारण बिथोलिउको छ। र भर्खरै कोरोना महामारीबाट तंग्रिन थालेका एशियाली देशहरूमा मजदूरी र त्यसको ज्याला वृद्धिको दबाव छ।

‘मलाई लाग्छ यो एकदमै बिडम्बनापूर्ण र आश्चर्यलाग्दो छ। एसियाली देशमा अचानक दक्ष जनशक्तिको माग बढ्यो। तर कोरोनाले थलिएका धेरै जनशक्ति तत्काल उपलब्ध भएनन् र जनशक्तिका लागि मूल्य (ज्यालादर) चर्को पर्छ।’ उनका अनुसार एसियामा धेरै सामानहरू अमेरिकाबाट आयात हुन्छ। त्यसलाई ‘आयात सम्बन्धित मूल्यवृद्धि’ पनि भन्न सकिन्छ।

‘कहिलेकाहिँ अमेरिका र युरोपमा मूल्यवृद्धि बढिरहेको हुन्छ भने हामीले आयात गरेर ल्याउने सामानहरूको मूल्य सम्बन्धित देशमा पुगेपछि बढाउनैपर्ने बाध्यता हुन्छ’ उनी भन्छन्।

एसिया प्यासिफिक अध्ययन संस्थाका प्रमुख अर्थशास्त्री रोवर्ट कार्नलका अनुसार एसियामा एकरूपता छैन। हरेक देशका आफ्नै विशेषता छन् र हरेक देश भिन्नभिन्न प्रकारका छन्। तर, अहिले मूल्यवृद्धिको दर भने औसत सन्तुलनमा छ अमेरिका-युरोपभन्दा।

उनका अनुसार धेरै एसियाली देशहरू विश्वको आपूर्ति चक्रमा आइरहेको अवरोधबाट थोरै प्रभावित छन्।

‘तर पनि कसैले महंगी छैन र हुँदैन भनेर भ्रममा पर्नुहुँदैन। केही न केही महंगी छ नै’ उनी भन्छन् ‘अहिले चलिरहेको रुस र युक्रेन युद्धले पनि त्यसमा केही अंश प्रभाव पारेको छ।’

एसियाका लगभग सबैजसो देशहरू इन्धनमाथि निर्भर छन्। र, त्यसलाई अहिले त्यो युद्धले झन् प्रभावित बनाएको छ। हरेकजसो देशले इन्धनको अभाव र त्यसको चर्को मूल्य झेलिरहेका छन्। किनकि युरोपका लागि ग्यास पाइपलाइन रुसले बन्द गरिसकेको छ। जसले गर्दा पूरै विश्वलाई त्यसले बिथोलेको छ। एसिया र युरोपबीचको मुख्य प्रतिष्पर्धा भनेकै अहिले प्राकृतिक ग्यास र कच्चा तेलको स्रोत खोजी हो।

त्यही युद्धका कारण अहिले यहाँ खाद्यान्नकोसमेत अभाव भइरहेको छ। विश्व बजारमा अहिले गहुँको अभाव छ। जो युक्रेनबाट विश्वका धेरै देशमा पुग्थ्यो। युक्रेन विश्वकै पाँचौ ठूलो गहुँ निर्यात गर्ने देश हो। त्यस्तै भारत र थाइल्यान्डबाट चामलको निर्यात प्रणाली पनि बिथोलिएको छ।

अर्कोतिर रासायनिक र मल र बालीनालीको सम्बन्ध पनि उस्तै छ। कारनलका अनुसार अहिले युक्रेनबाट मल निर्यात हुन सकेको छैन र किसानले निकै कम मल प्रयोग गरेर बाली हुर्काइरहेका छन्। यो दीर्घकालसम्म हुने असर हो र पछि झन अभावका कारण मूल्यवृद्धि हुनसक्छ।

युनिभर्सिटी अफ सिड्नी बिजनेश स्कुलका प्रध्यापक लि वेइका अनुसार विश्वव्यापी रूपमा बढिरहेको चर्किरहेको यो मूल्यवृद्धिले सबै देशहरूलाई एउटा त्यस्तो नीति बनाउनका लागि दबाव दिइरहेको छ, जसले सामानहरूको मूल्यवृद्धिलाई सम्बोधन गर्न सकोस्। जस्तो कि केही वर्षदेखि विश्वका शक्ति राष्ट्रहरूले ठूला ठूला विकास निर्माण, वैकल्पिक उर्जा र सुरक्षाका लागि लगानी गर्थे अब त्यो लगानी त्यसैगरी सामानहरूको मूल्य घटाउनका लागि नीति बनाउनुपर्ने हुन्छ।

गत जुन ८ मा संयुक्त राष्ट्र संघले एउटा प्रतिवेदनमा भनेको थियो विश्वले कम्तीमा एक पुस्ता मानवीय संकटको सामना गरिरहनुपरेको बताएको थियो।

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै विश्वका धेरै विकसित राष्ट्रहरुले पनि त्यसलाई पछ्याइरहेका छन्। जसले विश्वमा ठूलो हिस्सा लगानी गर्नसक्ने क्षमता राख्छन्।

बढ्दो ब्याजदरको त्यही लगानी मूल्यवृद्धिको एउटा मुख्य कारण बनिरहेको छ। किनकि विश्व बजार अहिले पनि डलर भाउमै निर्भर छ।

युएस फेडेरल फन्ड्स रेट (जसलाई अमेरिकाको केन्द्रीय बैंकसरह मानिन्छ) भनेको अमेरिकामा चलन चल्तीमा रहेको यस्तो किसिमको ब्याज दर हो जसलाई बैंक तथा क्रेडिट युनियनहरूले आफूसँग रहेको निक्षेप अन्य त्यस्तै संस्थालाई बिनाधरौटी रातारात ऋणका रूपमा दिने गर्छन्। यस्तो फेडेरल फन्ड्स रेटलाई अमेरिकी वित्तीय बजारमा मापदण्डका रूपमा लिने गरिन्छ।

चाइना डेलीको सहयोग