कोरियामा अब श्रमिकको न्यूनतम मासिक तलव २ लाख

कोरियामा अब श्रमिकको न्यूनतम मासिक तलव २ लाख

काठमाडौं । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियाले कामदारहरूको ज्यालादर बढाएको छ।

कोरियाली मजदुर युनियनहरू र रोजगारदाता कम्पनीहरूबीच मजदुरहरुको ज्याला बढाउने सहमति गरेका हुन्।

यो सहमतिअनुसार आगामी वर्षदेखि प्रतिघण्टा ज्याल ९ हजार ६२० वन हुनेछ। यो भनेको प्रतिघण्टा ७.४१ डलर अर्थात् नेपाली करिब ९३४.९२ रूपैयाँ हो र अहिलेको भन्दा लगभग ५ प्रतिशत बढेको हो।

बुधवार राति बसेको कोरियाली ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएको हो। हरेक वर्ष सरकारले समीक्षा गर्छ र कामदारहरूको ज्याला बढाउँछ।

अब हरेक कामदारको न्यूनतम तलव लगभग २० लाख १० हजार वन अर्थात् लगभग २ लाख रूपैयाँ नेपाली हुनेछ।

कोरियाका सबैजसो कम्पनीहरूले अनिवार्य लागू गर्नुपर्ने यो पारिश्रमिकबाट इपिएस परीक्षा दिएर कोरिया पुगेका ३५ हजार भन्दा धेरै नेपालीलाई पनि लाभ हुनेछ।

आगामी वर्ष २०२३ मा यो न्यूनतम ज्यालाकै आधारमा ओभरटाइम तथा विदाको दिन काम गर्नेहरूले अतिरिक्त भत्ता पनि पाउनेछन्।

कोरिया टाइम्सका अनुसार समितिमा यो ज्यालादर निर्धारण गर्ने बैठकमा सार्वजनिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने ९ सदस्य तथा कोरियाली मजदुर युनियनका ४ जना सदस्यले भनेजति तलव नबढाएको भन्दै बैठक बहिष्कार गरेका थिए। बाँकी सदस्यहरूले त्यही प्रस्तावमा मत जाहेर गरे।

आगामी ५  अगस्टमा कोरियाको श्रम तथा रोजगार मन्त्रालयले यो प्रस्ताव अनुमोदन गर्नेछ र २०२३ को जनवरीदेखि यो ज्यालादर लागू हुनेछ।