मन्त्रिपरषद पुनर्गठन, कुँवर नयाँ श्रममन्त्री

मन्त्रिपरषद पुनर्गठन, कुँवर नयाँ श्रममन्त्री

काठमाडौं । मन्त्रिपरषद पुनर्गठन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गगठन गरेकी हुन्।

नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।

एकीकृत समाजवादीले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार सरकारमा पठाएको छ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र हिरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूको सपथ सोमबार हुने भएको छ।

एकीकृत समाजवादीबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएसँगै नयाँ मन्त्रीहरूको सपथग्रहणको तयारी सोमबारका लागि गरिएको हो।

बालुवाटार स्रोतले सोमबार नयाँ मन्त्रीहरूको सपथ हुने जनाएको छ। ‘आज सपथग्रहण हुँदैन, भोलिका लागि तयारी हुँदैछ,’ बालुवाटार स्रोतले भन्यो।

राष्ट्रपति कार्यालयमा सोमबारका लागि नयाँ मन्त्रीहरूको सपथको समय माग गरिएको स्रोतले जनायो।

मन्त्री नियुक्त हुने सूचीमा परेका एकीकृत समाजवादीका एक नेताले पनि सोमबार सपथग्रहण हुनसक्ने बताए।

‘सपथग्रहणका लागि अहिलेसम्म कुनै जानकारी आएको छैन, भोलि हुनसक्छ होला,’ ती नेताले भने।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने निर्णय एकीकृत समाजवादीले जेठ २२ गते गरेको थियो।

एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बुझाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यान्वयन गर्न आग्रह गरेको थियो।

तर, देउवाले बजेटलगायतका कारण देखाउँदा मन्त्री हरेफेरमा ढिलाइ गरेका थिए।

शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भए त्यसलाई अपमानको रूपमा लिने चेतावनी दिएको थियो।

मन्त्री फेरबदलको निर्णयमा ढिलाइ भएपछि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीभित्र खेल्न खोजेको आरोप एकीकृत समाजवादीले लगाएको थियो।

सचिवालय बैठकको निर्णयविपरित मन्त्रीहरू सरकारबाट फिर्ता हुन तयार नभएपछि एकीकृत समाजवादीभित्र पछिल्लो समय विवाद बढेको थियो।