कतार  विश्व कप : अवैध यौन गतिविधि गर्नेलाई ७ वर्ष जेल सजाय

कतार  विश्व कप : अवैध यौन गतिविधि गर्नेलाई ७ वर्ष जेल सजाय

दोहा। विश्व कप फुटबलको तयारीमा रहेको कतारले प्रेमी–प्रेमिका सम्बन्धि कानुनलाई कडा बनाएको छ।

विश्वभरिका फुटबल प्रेमी भित्रिने आशा गरेको कतारमा यो कानुनलाई कडा बनाएपछि विदेशीहरू असमञ्जसमा पर्ने निश्चित छ।

कतारले विवाहपूर्वको प्रेमलाई अनैतिक ठहर गर्दै गैर श्रीमान–श्रीमतीले सम्भोग गरेको भेटिए ७ वर्ष जेल सजाय तोकेको छ।

उसले यो कानुनलाई मात्र नभएर अन्य कडा कानुनलाई पनि लागू गरेको छ। विश्व कप अगाडि लागू गरिएको यो नियमले पश्चिमा पर्यटकको कतार आगमन प्रभावित बन्ने सम्भावना बढेको छ।

कतारमा इस्लामी सरिया कानुन लागु छ। जहाँ समलैंगिक सम्बन्धलाई ठूलो अपराध मानिन्छ। त्यसैले यहाँ समलैंगिकका लागि छुट्टै सजायको प्रावधान राखिएको छ।

‘डेली स्टार’ पत्रिकाले कतार पुलिसलाई उध्रृत गर्दै भनेको छ, यस्तो अपराधमा विदेशी नागरिकलाई पनि ७ वर्षको सजाय हुन सक्छ। गैर श्रीमान–श्रीमतीले सहमतिमा सम्बन्ध बनाए पनि यसलाई अपराध मानिएको छ।

कतारमा विश्व कप फुटबल हेर्न जाँदै हुनुहुन्छ भने तपाईंहरूले मधपान गर्न पाउनु हुन्न। यसलाई प्रतिबन्ध लगाइएको छ। यस्तै, स्त्री–पुरुषको थर बेग्ला–बेग्लै भएको खण्डमा पनि तपाईंले होटलमा एउटै कोठामा बस्न पाउनु हुन्न। एउटै कोठा लिन तपाईंले आफूहरू लोग्ने–स्वास्नी भएको प्रमाणित गर्नुपर्ने छ।

फिफा विश्व कपका मुख्य अधिकारी नासिर भन्छन्, ‘स्वतन्त्र रोमान्स कतारको संस्कृति होइन। त्यसैले हामीले यहाँ आउने विदेशी आगन्तुकलाई पनि यसको अनुमति दिँदैनौं।’ उनले विश्व कप हेर्न आउने फुटबल समर्थकको सुरक्षा आफ्नो पहिलो दायित्व भएको बताए।

कतार खाडी राष्ट्रमा सबैभन्दा कठोर कानुनका लागि परिचित छ। अरबी देशमा सरिया कानुन लागू हुनु सामान्य कुरा हो। विवाहपूर्व र श्रीमान–श्रीमतीबाहेक अन्यसँग यौन सम्बन्ध बनाउन ठूलो पाप मानिन्छ। त्यसैले मध्यपूर्वको धेरै देशमा कोर्रा हिर्काउनेदेखि मृत्युदण्डको सजायसमेत राखिएको छ।

साउदी अरबमा गैर पुरुष तथा स्त्रीले यौन सम्पर्क राखे उनीहरूलाई ढुंगाले हिर्काएर मार्ने सजाय तोकिएको छ। यस्तै, विवाह नगरेका व्यक्तिको हकमा कोर्रा हिर्काउने प्रावधान छ। यो कानुन युवा युवती दुबैमा समान छ।

इरानमा विवाहपूर्व यौन सम्बन्ध बनाएको खण्डमा मृत्युको सजाय तोकिएको छ। सन् २०१३ सम्म यस्तो कार्यका लागि ढुंगाले हिर्काएर मार्ने कानुन थियो। तर, यसलाई संसोधन गरेर फाँसीको सजाय बनाइएको हो।