एघार महिनामा ४ हजार किलो सुन भित्रियो, कहाँबाट आउँछ नेपालमा सुन ?

एघार महिनामा ४ हजार किलो सुन भित्रियो, कहाँबाट आउँछ नेपालमा सुन ? सांकेतीक तस्वीर

काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो ।

पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो । आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपाल भित्रिएकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४।५ केजी सुन भित्रिएको थियो ।

बितेको एघार महिनामा नेपालले तीन देश– युनाइेटड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात गरेको छ ।

नेपालमा सबैभन्दा बढी सुन युएईबाट आउने गरेको छ । युएईबाट चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँको सुन नेपाल आएको छ ।