बुधबारबाट कुनै पनि आन्तरिक उडान नहुने

बुधबारबाट कुनै पनि आन्तरिक उडान नहुने File Photo

काठमाडौं। निजी वायुसेवा कम्पनीहरूले भोलि बुधबारबाट नियमित तथा उद्धार उडान नगर्ने घोषणा गरेका छन्।

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाज तथा हेलिकोप्टर यथावत राख्न दिनुपर्ने र उक्त व्यवस्था हटाए बुधबारबाट कुनै पनि आन्तरिक उडान नगर्ने घोषणा गरेका हुन्।

प्राधिकरणले त्रिभुवन विमानस्थलबाट ५५ थान जहाज र हेलिकोप्टरलाई राति काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

सोही निर्णयको विरोधमा वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले बुधबारबाट सबै नियमित तथा उद्धार उडान नगर्ने घोषणा गरेको हो।

‘त्रिभुवन विमानस्थल परिसिरमा नियमअनुसार स्वीकृति लिई वायुसेवा कम्पनीहरूले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचना यथावत सञ्चालन गर्न नदिएसम्म हामी कुनै पनि उडान गर्दैनौं,’ संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो हाम्रो वाध्यात्मक अवस्था हो।’

प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दै जाँदा क्षमताले धान्न नसकेपछि काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्न वायुसेवाहरूलाई गत आइतबार निर्देशन दिएको थियो।

प्राधिकरणको निर्णय व्यावहारिक नभएका कारण बाध्य भएर सेवा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको संघका अध्यक्ष क्याप्टेन थापाको भनाइ छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हाल १७ थान जहाजमात्र पार्किङ गर्न सक्ने क्षमता भए पनि दोब्बरसम्म जहाज राख्ने गरिएको छ।

उडान सुरक्षा र हवाईसेवा सुदृढीकरणका लागि यस्तो निर्णय गर्नुपरेको हो।

प्राधिकरणले हेलिकोप्टर कम्पनीलाई आज मंगलबारबाटै र जहाज कम्पनीलाई असार १३ गतेबाट काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो।

हाल नौवटा वायुसेवा कम्पनीका ५२ थान जहाज र ११ हेलिकोप्टर कम्पनीका ३० थान हेलिकोप्टर सञ्चालनमा छन्।

प्राधिकरणको नयाँ नियमअनुसार अब २० थान हेलिकोप्टर र ३५ थान जहाज काठमाडौं बाहिर पार्किङ गर्नुपर्ने छ।