विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन निर्वाचन आयोग सकारात्मक

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन निर्वाचन आयोग सकारात्मक

काठमाडौं । निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूलाई मताधिकार प्रयोग गर्न र मतदाता नामावलीमा नाम दर्ता गराउन सकारात्मक देखिएको छ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग मंगलबार भएको छलफलमा प्रवासी नेपालीलाई मतदान गर्न र मतदाता नामावलीमा नाम दर्ता गराउने विषयमा आयोग सकारात्मक देखिएको हो।

मतदाता नामावली संकलनलाई सहज बनाउन र विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउनबारे थापा र शर्माले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग छलफल गरेका छन्।

प्रमुख आयुक्त थपलियासँगको छलफलपछि कांग्रेसका महामन्त्रीद्वयले विदेशमा रहेका नेपालीहरूलाई मतदान प्रक्रियामा सहभागी गराउन र मतदाता नामावलीमा नाम दर्ताका लागि व्यवस्था मिलाउन आयोग सकारात्मक देखिएको बताए।

छलफलपछि महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरूलाई मतदान प्रक्रियामा सहभागी गराउन कानुन संशोधनका लागि आयोग सकारात्मक रहेको बताए।

उनले कानुन संशोधनका लागि ८–१० दिनभित्र पेश गर्ने जानकारी आयोगले जानकारी गराएको बताए। संशोधन हुने निर्वाचन कानुन चाँडै पास गर्ने वातावरण मिलाइदिन आयोगले आफूहरूसँग अपेक्षा राखेको थापाले जानकारी दिए।

‘निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थालाई कम्तिमा पाँच ठाउँमा बदल्नुपछ, जसको आधारमा नेपाल बाहिर रहेका नेपालीहरूलाई मतदाताको रूपमा सूचीकृत पनि गर्न सकिन्छ र त्यो सँगै मतदान गर्ने अवस्था पनि बनाउन सकिन्छ,’ थापाले भने,‘८–१० दिनभित्र संशोधन पेश गर्छौं उहाँहरूले भन्नुभएको छ। छिटो पारित गर्न राजनीतिक समझदारीका लागि उहाँहरूले हाम्रो भूमिकाको अपेक्षा राख्नुभएको छ।’

कानुन संशोधविनै विदेशमा रहेका नेपालीलाई मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था मिलाउन पनि आफूहरूले सुझाव दिएको र त्यसका लागि आयोग सकारात्मक देखिएको उनले बताए।

उनले सरकार र आयोगले इच्छाशक्ति देखाए विदेशमा रहेका नेपालीहरू यसैपटकको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे।

‘इच्छाशक्ति भए गर्न सकिन्छ, एकाएक आएको कुरा पनि होइन, सर्वोच्चले परमादेश पनि गरिसकेको छ,’ थापाले भने,‘ड्राफ्टहरू पनि भएका छन्। आयोग र सरकार दुवैले इच्छाशक्ति राखे यसैपटक सुरूवात गर्न सकिन्छ।’

महामन्त्री शर्माले अनलाइन प्रविधिबाट नामावली दर्ता गरेर विदेशस्थित दूतावासहरूमा मतदानको व्यवस्था मिलाउन सकिने बताए।
‘हाम्रो अपेक्षा यही निर्वाचनका लागि हो। चार पाँच महिना समय बाँकी छ,’ उनले भने,‘अनलाइन प्रविधिबाट दर्ता गर्न सकिन्छ, दूतावासहरूबाट मतदान गर्न सकिन्छ।’

उनले हाल जारी मतदाता नामावली संकलन कार्यलाई सहज र सरल बनाउन आफूहरूले आयोगसँग आग्रह गरेको बताए। जिल्ला सदरमुकाममा मात्रै नभएर प्रत्येक पालिकामा मतदाता नामावली संकलन कार्य अगाडि बढाउन आफूहरूले आयोगलाई सुझाव दिएको शर्माले बताए।