स्पेनस्थित नेपाली दूतावासले प्रभावकारी काम नगरेको गुनासो

स्पेनस्थित नेपाली दूतावासले प्रभावकारी काम नगरेको गुनासो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले स्पेनस्थित नेपाली दूतावासले प्रभावकारी काम नगरेको गुनासो गरेका छन्।

रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले स्पेनमा नेपाली दूतावास हुँदापनि फ्यामिली भिसाको समस्या रहेको सुनाए। दूतावासले राम्रोसँग समन्वय नगरेको उनको गुनासो छ ।

उनले भने,‘हामीले परिवारका सदस्यहरुलाई घुम्नको लागि लग्न खोज्दापनि समस्या भयो, भिसाको लागि समय खर्चिनुपर्ने भयो । बुवाआमालाई भिजिट भिसामा आफू बसेको देश लैजान सकिएको छैन। युरोपमा बस्नेहरुलाई राम्रो व्यवहार भएन।’

भिसालगायतका कन्सुलर सेवा प्रभावकारी बनाउनको लागि नेपाल सरकार खासगरी परराष्ट्र मन्त्रालयले उचित कदम चालोस भन्ने उनको भनाइ छ।

त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन्।

उनले स्पेनमा गैरआवासी नेपालीहरुको दोस्रो पुस्ता स्किल्ड मेनप्यावरको रुपमा देखा परेको भन्दै उनीहरुलाई पनि नेपालको विकास र समृद्धिको लागि उपयोग गर्नसक्नुपर्ने सुनाए।

त्यस्तै, उनले सबै नेपालीहरु रहरले नभएर बाध्यताले विदेशिएको भन्दै पारिवारिक मिलनको लागि आवश्यक प्रक्रिया अपनाउँदापनि भिसा प्राप्त गर्न समस्या भएको गुनासो पोखे।

यस्तै अध्यक्ष डुम्रेले सररकारले एनआरएनएले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिए।

नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाईदिन उनले माग गरे।

यस्तै, गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले पनि भिसालगायतका कन्सुलर सेवामा देखिएको समस्याको उठान गरेका थिए।

उनले भने,‘हामीलाई स्पेनमा धेरै समस्या रहेको छ, स्पेनवासीका लागि स्पेन कन्सुलर र नेपाल परराष्ट्र मन्त्रलय हाम्रो समस्याको समाधान गर्न खोज्नुहुन्न ? किन हामीलाई कन्सुलरले भनेको समयमा समस्याको समाधान गर्दैन् ?’

कार्यक्रममा बाग्लुङ समाज स्पेनका अध्यक्ष राजु थापाको पनि उपस्थिति थियो। उनी एनआरएनए, स्पेनका सल्लाहकारपनि हुन्।