नेपाली भाषाप्रति एआईडब्ल्युसीकी सदस्यको भनाई निराशाजनक : मुख्यमन्त्री तामाङ

नेपाली भाषाप्रति एआईडब्ल्युसीकी सदस्यको भनाई निराशाजनक : मुख्यमन्त्री तामाङ

गान्तोक । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले अखिल भारतीय महिला सम्मेलन (एआईडब्ल्युसी) की एक प्रतिनिधिले नेपाली भाषालाई लिएर दिएको बयानको भर्त्सना गर्दे उनको भनाईलाई निराशाजनक बताएका छन्।

मुख्यमन्त्री तामाङले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अखिल भारतीय महिला सम्मेलनकी एक प्रतिनिधिले नेपाली भाषालाई ‘गैर-भारतीय’ बताउॅंदै नेपाली भाषाका कलाकारहरूको प्रस्तुतिलाई अस्वीकार गरेको बताएका छन्। उनले एआईडब्ल्युसीकी प्रतिनिधिको बयान निराशाजनक रहेको बताएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, “नेपाली भाषा १.५ करोड़ भारतीयले बोल्छन् र यो भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता दिइएको छ। उनको यस्तो बयानले सम्पूर्ण नेपाली भाषी समुदायको भावनामा गहिरो चोट पुगेको छ।”

मुख्यमन्त्री तामाङले यस विषयलाई लिएर एआईडब्ल्युसीसॅंग पत्राचार गरिएको जनाउदै सिक्किमका जनताहरुले यस्तो पीडादायी बयानको भर्त्सना गरेको बताएका छन्। उनले एआईडब्ल्युसीलाई तत्काल यो मुद्दा सच्याउन आह्वान गरेका छन्। उनले यस बिषयमा एआईडब्ल्युसीबाट तिव्र प्रतिक्रियाको आशा पनि व्यक्त गरेका छन्।

अखिल भारतीय महिला सम्मेलनकी कार्यकारी सदस्य चन्द्रप्रभा पाण्डेले नेपाली भाषालाई विदेशी भाषा बताउॅंदै ‘आजादीको अमृत महोत्सव’ कार्यक्रममा नेपाली भाषी कलाकारहरूको प्रस्तुतिलाई सामेल गर्न नसक्ने बताएकी थिइन्।