नेपाल युक्रेनभन्दा बढी संवेदनशील अवस्थामा, संयमित भएर परराष्ट्र नीतिको अभ्यास गरौं : ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदनशील अवस्थामा रहेको बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न सरकारलाई सचेत गराए।
उनले भने, ‘आज युक्रेनमा जे देखिएको छ त्यसतर्फ हामीले पनि ख्याल गर्नुपर्ने हुन्छ।’ वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठीक नभएको समेत उनले बताए।
उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० अनुदानमा पाए लिने नत्र नलिने। सित्तैमा पाए अलकत्रा खाने हो। चीनसँग वर्तमान सरकारको नीति ठीक भएन। ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ। हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनु हुँदैन। तर, आवश्यकता पर्यो भने ऋण पनि लिने हाम्रो नीति हो।’
केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए। उनले भने, ‘छिमेकलाई र उसको चासोलाई व्यवास्ता गरेर हामी जे गर्दै छौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ।’
समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए। वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै विदेशीका लागि कम्फरटेवल सरकार भनेर परराष्ट्र नीतिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए।
‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौं। त्यो भू–भाग लिनेतिर ध्यान दिएनौं। बरु समस्या नै नभएको चीनबारे सीमा मिचिएको भनी अध्ययन गर्यौं। के आयो रिजल्टरु’ उनले प्रश्न गरे।