यूएईमा श्रमिकलाई दिउँसोको घाममा काम लगाउन नपाइने, उल्लंघन गरे ५० हजार दिरामसम्म जरिवाना

यूएईमा श्रमिकलाई दिउँसोको घाममा काम लगाउन नपाइने, उल्लंघन गरे ५० हजार दिरामसम्म जरिवाना फाइल फोटो

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) मा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ।

यूएईको मानव संसाधन मन्त्रालयले १५ जुनदेखि दिउँसो साढे १२ बजेदेखि ३ बजेको समयमा सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन नपाउने जनाएको छ। यो नियम १५ सेप्टेम्बर सम्म लागू हुनेछ।

मन्त्रालयको यो नियमसँगै परियोजना र निर्माण क्षेत्रहरूमा काम गर्ने श्रमिकहरूले ठूलो राहत पाउनेछन्।

यूएईले प्रत्येक वर्ष गर्मीको समयमा यो नियम लागू गर्दै आएको छ। दिउँसोमा यस्तो नियम लागू भएको यो १८ औं वर्ष हो।

यो अवधिमा यूएईको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्छ।

दिउँसोको समयमा दिइने यस्तो ब्रेकले श्रमिकमा गर्मीमा हुने थकान र गर्मीको कारणले हुने आघातका घटनामा उल्लेखनीय कमी आएको यूएईको दावी छ।

दिउँसोको घाममा विदा दिनुपर्ने नियम उल्लङ्घन गर्ने रोजगारदाता कम्पनीलाई प्रशासनिक जरिवाना लगाइने बताइएको छ।

चर्को घाममा श्रमिकलाई काम लगाउने कम्पनीले ५० हजार दिरामसम्मको जरिवाना तिर्नुपर्ने चेतावनी मन्त्रालयले दिएको छ। नियम उल्लङ्घन गर्ने रोजगारदाताले प्रति श्रमिक ५ हजार दिराम जरिवाना रकम तिर्नुपर्नेछ। सो रकमको अधिकतम हद ५० हजार दिरामसम्म तोकिएको छ।

अत्यावश्यक क्षेत्रमा काम गर्ने श्रमिकको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन।

ती क्षेत्रहरु यसप्रकार छन् :-

–परियोजना कार्यहरू जस्तै कंक्रिट खन्याउने काम।

–खतराबाट बच्नको लागि गरिने काम : कुनै क्षति वा खराबी मर्मतसम्भारका काम।

–आकस्मिक क्षतिको रोकथाम गर्ने काम : खानेपानी आपूर्ति लाइन, ढल निकास वा विद्युत लाइनहरूमा अवरोध मर्मत गर्ने वा सार्वजनिक सडक, र ग्यास वा तेल पाइपलाइनहरूमा भएको अवरोध हटाउने काम।

–ट्राफिक र यातायात सेवाको प्रवाहमा प्रभाव पार्ने काम, जुन कार्यान्वयन गर्नको लागि सक्षम सरकारी निकायबाट अनुमति लिनु पर्छ। जस्तै : बिजुली र टेलिकम लाइन काट्ने जस्ता काम।

यी क्षेत्रमा काम गर्ने श्रमिकहरूको लागि रोजगारदाताहरूले चिसो पिउने पानी, नुन र कागती उपलब्ध गराउनु पर्नेछ।

यसको अतिरिक्त कम्पनीहरूले कार्यस्थलमा प्राथमिक उपचारको लागि प्रावधान गर्नुपर्नेछ। त्यस्तै, श्रमिकहरूलाई प्रत्यक्ष घामबाट जोगाउन औद्योगिक क्षेत्रमा उपयुक्त चिसोको सुविधा र आराम गर्नको लागि छाँयायुक्त ठाउँ उपलब्ध गराउनुपर्नेछ।

काम गर्ने दैनिक समय–तालिका

रोजगारदाताहरूले दिउँसोको ब्रेकको प्रावधानसहित दैनिक काम गर्ने घण्टाको समय–तालिका मुख्य स्थानमा सबैले देख्ने गरी अनिवार्य रुपमा टाँस्नुपर्नेछ।

यस सम्बन्धमा सर्वसाधारणले कुनैपनि ठाउँमा उल्लंघनका घटना देखेमा सोमबारदेखि शनिबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मन्त्रालयलाई ६००५९०००० मा कल गरी उजुरी दिन सकिनेछ।
साथै मन्त्रालयको एपमार्फत पनि सूचित गर्न सकिने बताइएको छ।

याे नियमअनुसार श्रमिकको दैनिक कामको अवधि ८ घण्टा बढी नहुने स्पस्ट पारिएको छ भने दिउँसो मध्य घाममा काम गर्न अफ्ठ्यारो भए साँझको समय परिवर्तन गर्न सकिने बताइएको छ।

कुनै पनि श्रमिकले २४ घण्टाभित्र ८ घण्टाभन्दा बढी काम गरेको छ भने उसलाई ओभर टाइमको पैसा उपलब्ध गराउन पनि नियममा स्पष्ट पारिएको छ।