प्रधानमन्त्रीसहित नेताहरूलाई बोलाएर ‘कक्टेल पाटी’सहितको अन्तरक्रिया गर्दै एनआरएनए
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
संघले आफ्ना मुद्दाहरुको विषयमा केन्द्रीत रहेर आगामी मंगलबार (१६ जुन) मा काठमाडौको र्याडिसन होटलमा अन्तरक्रिया राखेको हो।
‘हाफ डे वर्कशप’ नाम दिइएको उक्त अन्तक्रियामा ‘कक्टेल डिनर’को व्यवस्था छ।
उक्त ‘वर्कशप’मा प्रधानमन्त्री शेरबहादुर देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत अन्य मन्त्री र नेताहरुलाई निम्तो दिइएको छ।
अन्तरक्रियामा नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी, वैदेशिक रोजगार, डलर खाता, सामाजिक सुरक्षाकोष लगायतका विषयमा छलफल गरिने बताइएको छ।
यता एनआरएनएका कतिपय पदाधिकारीले भने आफूहरुसँग छलफल नै नगरी ‘कक्टेल डिनर’को व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘छलफल नै नगरी आएको ‘कक्टेल’को बिल तिर्न सक्किन्न,’ आर्थिक विभाग सम्हालेका एक पदाधिकारी भन्छन्।
पदाधिकारीहरु ‘कक्टेल’का लागि कोषको पैसा खर्च नगर्ने पक्षमा छन्।
‘विदेशमा पसिना बगाएर पठाएको पैसा अनावश्यक काममा खर्च गर्नुहुँदैन। गास कटाएर पठाएको पैसाको सहि सदुपयोग हुनुपर्छ,’ अर्का एक पदाधिकारी प्रश्न गर्छन्,‘अन्तरक्रिया कार्यक्रममा किन कक्टेल चाहियो?’
संघले उक्त कार्यक्रममा १५० जना सहभागी हुने भन्दै होटल बुक गरिसकेको छ।
अत्यावश्यक कामबाहेक खानपिनलगायत ‘रिफ्रेसमेन्ट’ का लागि कोषको रकम खर्च गर्न नहुने धेरैको माग छ।