एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनका लागि नाम दर्ता सुरु
काठमाडौं। गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोसो विज्ञ सम्मेलनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता खुला भएको छ।]
संघका क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवारदेखि सुरु गरिएको छ।
२६ अगष्टदेखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ।
तीन दिन सम्म चल्ने सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रम आयोजना गरिनेछ भने बाँकी अनौपचारिक तथा पर्यटकिय हुनेछन्।
तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनरसमेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोखरेलले जानकारी दिए। सो रकममा प्रतिनिधिहरुले क्रुज सयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्नेछन्।
सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा. बद्री केसीलगायत संघका पदाधिकारीहरुको उपस्थिति रहनेछ। सम्मेलनमा पूर्वअध्यक्षहरु समेत विषेश अतिथिको रुपमा उपस्थित हुने अपेक्षा गरिएको छ।
२५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न देशका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपाली, संचारकर्मीलगायको उपस्थिति रहनेछ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरतालगायत संस्थागत एकताको वारेमा छलफल हुने बताइएको छ।