एनआरएनए जन्माएका लामिछाने अब अलग हुँदैछन् !

एनआरएनए जन्माएका लामिछाने अब अलग हुँदैछन् ! जीवा लामिछाने

काठमाडौं। गैरआवासीय नेपाली अभियानका एक शसक्त हस्ती हुन्, जीवा लामिछाने।

सन् २००३ मा डा.उपेन्द्र महतो, भिम उदास र उनै लामिछानेहरूले रोपेको गैरआवासीय नेपाली संघ, एनआरएनए आज सारा विश्वभरि झांगिइसकेको छ।

१९ वर्षअघि रोपिएको यो विरुवा आज विश्वका ८४ देशमा हुर्किरहेको छ, हाँगाबिगाँ हालिरिहेका छन्। संस्था यति बृहत् भएको छ कि एनआरएनए भन्ने थाहा नभएका सायदै होलान्।

अझ भनौं विदेशमा बस्ने लाखौं नेपालीको त अभिभावक नै मानिन्छ। त्यसैले त नेपालका राजनीतिक दलको नजर पनि यो संस्थामा परिरहेको छ।

यसकारण एनआरएनएको निर्वाचनताका नेपाली राजनीति त्यहाँ पनि घुसिरहेको हुन्छ।

संसारभर फैलिएको उसको नेटर्वक देखेर विभिन्न अन्तर्राष्ट्रिय निकायहरू समेत लोभिन्छन्।

विदेशमा बसे पनि देशको लागि केही न केही त गर्नैपर्छ भन्ने उद्देश्यले स्थापना गरिएको संघमा लामिछानेको भूमिका सुरुदेखि नै मह्त्वपूर्ण मानिन्छ।

लामिछानेले सन् २०११ देखि ०१३ सम्म आफैले नेतृत्व गरेर संघलाई थप उचाइँमा पुर्‍याएका थिए।

त्यसयता नेतृत्व बाहिर रहेर पनि उनको भूमिका सधैं सक्रिय रह्यो। अझ भनौं उनीसँग छलफल र सर–सल्लाह नगरी एनआरएनए लगभग निर्णयसम्म पुग्दैन। लामिछाने एनआरएनएको ‘किङ मेकर’ नै मानिन्थे।

पछिल्लो समय संघमा उनको परिचय पूर्व अध्यक्षको मात्रै थिएन। दुई वटा मह्त्वपूर्ण जिम्मेवारी उनको काँधमा थिए। सन् २०१८ मा कुमार पन्तको नेतृत्वमा निर्वाचित कार्यसमितिले उनीलगायतका पूर्व अध्यक्षहरुलाई समेटेर संरक्षक परिषद् गठन गर्‍यो। जहाँ, उनलाई संरक्षक बनाइयो।

यस्तै सोही कार्याकालमै संघले ‘एनआरएन फाउण्डेसन’को स्थापना गर्‍याे। नेपालमा थप परोपकारी परियोजना संचालन गर्नका लागि। जसको संयोजकको जिम्मेवारी लामिछानेलाई नै दिइयो।

यो फाउण्डेसनको सदस्यमा निवर्तमान अध्यक्ष कुमार पन्त, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम, एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल, अभिनेत्री मनिषा कोइराला, रामप्रताप थापा, पूर्व संरक्षक इन्द्रा वन, र पुरु श्रेष्ठ छन्।

आधिकारिक रुपमा दर्ता भए पनि यो संस्था फुल्न पाएको छैन, फक्रिन पाएको छैन। ठूलो सपना देखेर जन्माइएको यो फाउण्डेसनले खासै केही काम गरेकै छैन।

तर, बिडम्बना संघमा यति धेरै सक्रिय रहेर योगदान पुर्‍याएका लामिछाने अब यो अभियानमा रहने छैनन्। सिधा शब्दमा भन्ने हो भने अब उनले एनआरएनए अभियानबाट सन्यास नै लिने भएका छन्।

लामिछानेले अब आफू संरक्षक र फाउण्डेसन दुबैमा नबस्ने भनेर अहिलेको कार्यसमितिलाई जानकारी गराइसकेका छन्। उनले आफ्नो जिम्मेवारीमा ‘अरु कसैलाई ल्याउनु’ भनेर भनिसकेका छन्।

लामिछाने संघबाट टाढिने भएपछि अहिले एनआरएनए वृत्त तरङगित छ। उनको निर्णयबाट कोही दुखी छन् भने कतिपय अच्चमित। धेरै पदाधिकारीले अहिले नै यो अभियानबाट बाहिर नबस्न उनलाई आग्रह गरिरहेका छन्। तर, उनले अब अभियानमा नबस्ने नै मनस्थिति बनाइ सकेका छन्।

‘संरक्षकमा नबसे पनि फाउण्डेसनबाट बाहिर नजानुहोस्, यसको नेतृत्व तपाईँले नै गर्नुपर्छ भनेर हामीले अनुरोध गरिरहेका छौं,’ एक पदाधिकारीले प्रवास खबरसँग भने, ‘ उहाँ बस्ने मुडमा त हुनुहुन्न। तर, हामीले प्रेसर गरिरहेका छौं। तपाईंले लिड गरेको फाउण्डेसनलाई यत्तिकै छोडेर जान पाउनुहुन्न भनेका छौं।’

यस विषयमा प्रवास खबरले लामिछानेसँग जिज्ञाशा राखेको थियो। जवाफमा उनले आफू अभियानबाट बाहिर रहन चाहेको बताए।

उनले नयाँ व्यक्तिहरुलाई स्थान दिन आफूले यो निर्णय लिएको बताए।

‘अरु त्यस्तो खासै केही पनि होइन। नयाँलाई स्थान दिउँ भन्ने पनि हो,’ उनले प्रवास खबरसँग भने।

दशौं महाधिवेशनताका नेतृत्व विवादका कारण एनआरएनएको साख गिरेको थियो।

कतिपयले पूर्वअध्यक्षले प्रभुत्व जमाउन आफू निकटका मान्छे नेतृत्वमा ल्याउने होडबाजीका कारण संघमा निकै कठिन परिस्थिति आएको आरोप लगाएका थिए। यस्तो आरोप खेप्नेमा लामिछानेको नाम अग्रस्थानमा थियो।

त्यसो त पछिल्लो समय बहुपदीय नेतृत्वमा सहमति जुटाएर एकताको महाधिवेशन गराउन लामिछानेको भूमिका पनि उल्लेखनीय थियो।

एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले गिरेको साख जोगाउन पक्ष–विपक्ष नभनी रचनात्मक काम गर्न आवश्यक भएको बताएका थिए।

संघमा विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेकोमा दु : ख व्यक्त गर्दै उनले भनेका थिए, ‘फाटेका मन सिलाउन सकिन्छ, सबैले जिम्मेवारी बहन गर्नुपर्छ।’

अहिले उनी अभियानबाट अलग्गै बस्नुको कारण यो पनि एउटा हो।

प्रवास खबरसँग उनले भने, ‘मैले यो विषयमा महाधिवेशनको उद्घाटन सत्रमा पनि स्पष्ट भनेको थिएँ। त्यस्ता कुराहरुलाई चिर्न पनि बाहिरै बस्दा ठिक हुन्छ भन्ने लाग्यो। आखिर पुराना मान्छे बाहिर बसेर नयाँलाई ठाउँ पनि दिनुपर्छ।’

एक्कासी अभियानबाट बाहिरिन लागेपछि उनी नेपालको राजनीतिमा आउन लागेको चर्चा पनि चलेको छ।

आगामी संसदीय निर्वाचनमा कांग्रेसले टिकट दिन थालेकोले उनी एनआरएन अभियानबाट बिट मार्न थालेको चर्चा छ।

तर, उनले यो कुरालाई भने ठाडै अस्विकार गरेका छन्।

‘त्यो कुरा पक्का होइन। राजनीतिमा आउने भन्ने त हुँदै होइन,’ लामिछानेले भने।