इरानमा १२ कैदीलाई सामूहिक मृत्युदण्ड

इरानमा १२ कैदीलाई सामूहिक मृत्युदण्ड सांकेतीक तस्वीर

एजेन्सी,पेरिस । इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ।

मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले(आईएचआर) ले जनाएको छ।

सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो। तर, कुनै पनि मृत्युदण्डको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छैनन् नत सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

मृत्युदण्ड पाउनुअघि गार्जिज नामले चिनिने महिलामाथि श्रीमानको हत्या गरेको अभियोग लागेको थियो। उनी सन् २०१९ मा पक्राउ परेकी थिइन्।



No ads found for this position