भाजपा प्रवक्ताको भनाइप्रति यूएईको निन्दा
दुबई । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताले दिएको अभिव्यक्तिको संयुक्त अरब इमिरेट्स (यूएई) ले निन्दा गरेको छ।
भाजपाका प्रवक्ताले पैगम्बर मुहम्मदप्रति अपमानको यूएईले भत्सर्ना गरेको हो। भाजपा प्रवक्ता नुपुर शर्मा र नवीन जिन्दलले पैगम्बर मोहम्मदको विषयमा आपत्तिजनक बयान दिएका थिए।
यूएईको परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नैतिक र मानवीय मूल्यविपरीत हुने हरेक किसिम व्यवहारको दृढ भएर अस्वीकार गर्ने बताएको छ।
मन्त्रालयले धार्मिक प्रतीकको सम्मान गर्नुपर्ने बताएको छ। आस्थाप्रति गरिने घृणायुक्त भाषण र हिंसाको मुकाबिला गर्नुपर्ने मन्त्रालयको भनाइ छ।
भाजपाले पैगम्बर मोहम्मदको विषयमा विवादित बयान दिने प्रवत्ता शर्मालाई आइतबार ६ वर्षका लागि पार्टीबाट निलम्बन गरेको छ। यस्तै नेता जिन्दललाई निष्कासन गरेको छ। अरब देशहरूमा आक्रोश निम्त्याउने गरी अपमानजनक टिप्पणी गरेकोले उनीहरुलाई कारवाही गरिएको भाजपाले बताइएको छ।
यस्तै अन्य अरब राष्ट्रहरूले समेत भारतविरुद्ध आधिकारिक रुपमै विरोध जनाएका छन्। पाकिस्तान र अफगानिस्तानले पनि कडा प्रतिक्रिया दिएका छन्।
त्यसैगरी, कतार, कुवेत र इरानले भारतीय राजदूतलाई बोलाएर ध्यानआकर्षण गराएका छन्। यसैगरी खाडी सहयोग परिषद् र इस्लामिक सहयोग संगठनले विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेका छन्।
पछिल्लो समय भारतविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। त्यसैगरी, केही अरब राष्ट्रहरूमा भारतीय सामानको बहिष्कारको लागि आह्वान समेत गरिएको छ।